Logo

अब बन्ने सरकारले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्छ : ज्ञवाली



काठमाडौं, ११ माघ । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नेपाल–भारत सम्बन्ध प्रकृतिपत्त भएकोले आगामी दिनमा पनि आपसी हितलाई ध्यानमा राखेर अघि बढ्ने विश्वास दिलाए । उनले भने,‘आउने सरकारले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्नेछ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले भारतको ६९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै ज्ञवालीले अबको द्धिपक्षीय सम्बन्धका आयामहरु आर्थिक साझेदारी हुने पनि जनाए ।

भारत नेपालको ठूलो बजार भएकोले यो संभावनालाई ध्यानमा राखेर आफूहरुले सम्बन्धलाई थप मजबुद बनाउने उनको थियो । उनले आफूहरु छिमेकी मित्रराष्ट्र भारत र चीन दुवै देशसँग असल सम्बन्ध राखेर अघि बढ्ने विश्वास दिलाए । उनले भने,‘हामी हाम्रो भूमी कसैका विरुद्धमा प्रयोग हुन दिँदैनौं, कतैतिर नढल्किने नै हो।’

नेपाल–भारत सम्बन्धबारे गठित प्रवुद्ध व्यक्ति समूहले काम गरिरहेकोले समग्र पूनरावलोकन गरेर दुवै देशका सरकारलाई सुझाव दिने पनि तयारी भैरहेको उनले जनाए । ज्ञवालीले भने,‘द्धिपक्षीय सम्बन्धबारे समग्र पूनरावलोकन गरेर सुझाव दिन प्रतिवेदन तयारी भैरहेको छ, सायद जुलाईमा प्रतिवेदन तयार हुन्छ।’

नेपाल र भारतवीच नजिकको सम्बन्ध भएकोले बेलाबखत् समस्याहरु आउनु स्वभाविक भएकोले नेपाल र भारतका खुल्ला बोर्डरहरु हितमा अधिकतम उपयोग हुनुपर्ने धारणा राखे । उनले भने,‘जलस्रोतको विकास हुनुपर्छ, पञ्चेश्वर परियोजना छिटो फाईनल होस्, यो रोल मोडेलको रुपमा विकास होस्।’ त्यस्तै अरुण तेस्रो र अपर कर्णाली पनि चाँडै बन्नुपर्ने उनको भनाई थियो ।

उनले भारत विश्वकै उदयीमान अर्थतन्त्र भएकोले उसले उदारता अपनाउनुपर्नेमा जोड दिए । उनले भने,‘स–साना कुरामा अवरोध नहोस्, जस्तो अदुवा नरोकियोस्, भारतीय बजार खुल्ला छ, यसले नेपालको अर्थतन्त्रमा टेवा पुग्छ।’ उनले द्धिपक्षीय उच्चस्तरीय भ्रमणहरु आदानप्रदानले सम्बन्ध थप घनिष्ठ बनाउने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्