Logo

व्यापार घाटा कम गर्न निर्यात सामग्रीको सम्भाव्यता अध्ययन आवश्यक : गोल्छा



काठमाडौँ, ११ माघ (रासस) : नेपाल–हङ्कङबीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, हङ्कङमार्फत नेपालको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन र निजी क्षेत्रबीच सम्पर्क विस्तार गर्ने उद्देश्यले आज साँझ यहाँ एक छलफल कार्यक्रम आयोजना गरियो ।

नेपाल उद्योग वाणिज्य महासंघ र हङ्कङ व्यापार विकास परिषद्द्वारा संयुक्त रुपमा आयोजित ‘हङ्कङमार्फत व्यापार प्रवद्र्धनका अवसर’ विषयक व्यावसायिक छलफलमा सहभागी वक्ताले हङ्कङमार्फत अन्तर्राष्ट्रिय बजारमा नेपाली व्यवसाय प्रवद्र्धनको सम्भावना उच्च रहेको बताउनुभयो ।

सो अवसरमा वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन एवं व्यापारिक सम्पर्क विस्तारमा यस्ता छलफलबाट सहयोग पुग्ने बताउँदै अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा नेपालका लागि हङ्कङ महत्वपूर्ण व्यापारिक केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले हङ्कङसँगको व्यापार घाटा कम गर्न नेपालबाट हङ्कङ निर्यात हुने सामग्रीको सम्भाव्यता अध्ययन एवं पहिचान आवश्यक भएको बताउनुभयो ।

परिषद्का दक्षिण पूर्वी एसिया तथा दक्षिण एसियाका लागि क्षेत्रीय निर्देशक पिटर होङले आपसी आर्थिक व्यावसायिक सम्बन्धलाई मजबुत बनाउन यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल सरकारका विभिन्न निकायका साथै वाणिज्य मन्त्रालयका उच्च अधिकारी, महासंघका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरु, चीन र नेपालका उद्यमी व्यवसायीको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस्