Logo

सरकारले संविधान र नियमभित्र रही आफ्नो काम गर्छ : उपप्रधानमन्त्री गच्छदार



विराटनगर, १३ माघ (रासस) : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकार देश र जनताको हितका लागि विभिन्न निर्णय गरेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले संविधान र ऐन नियमभित्र रही आफ्नो काम गर्ने बताउनुभयो ।

उहाँले जनहितका लागि भएको सामाजिक सुरक्षा (वृद्ध) भत्तामा पाँच वर्ष उमेर घटाएको, भूकम्प र बाढीपीडितलाई रकम थप, जटिल रोगका बिरामीलाई जीवन निर्वाह भत्तावापत् रु पाँच हजार वितरण गर्ने निर्णय आगामी निर्माण हुने सरकारलाई देशको अहित हुन लागेमा रद्ध गर्न सक्ने बताउनुभयो ।

एक प्रश्नको जवाफमा उहाँले प्रहरी संगठनभित्र ३० वर्ष सेवा अवधि हटाउने सम्बन्धमा मन्त्रिपरिषद्मा कुनै छलफल र चर्चा नभएको स्पष्ट पार्नुभयो । उहाँले हल्ला गरेर प्रधानमन्त्रीले राजीनामा दिने होइन भन्दै संविधानअनुसार सरकार परिवर्तन हुनेछ भन्नुभयो ।

नेपाली काँग्रेसका नेतासमेत रहनुभएका नेता गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीचको सहमतिअनुसार राष्ट्रियसभा निर्वाचनपश्चात् नेकाँ पार्टीको संगठनभित्र सम्मानजनक स्थान प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली काँग्रेसको संगठन विस्तार सम्बन्धमा आवश्यक गृहकार्य भइरहेको जानकारीसमेत दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्