Logo

संविधान संशोधन भए मधेशवादी दल सरकारमा जान्छ : शरतसिंह भण्डारी



१४ माघ, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता शरतसिंह भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी ओली मधेशका मुद्दा सम्बोधन हुने गरी संविधान संशोधन गर्न तयार नभएको बताएका छन् ।

केही दिन ओलीले एक कार्यक्रममा आफूहरु संविधान संशोधनका लागि तयार भए पनि मधेशवादी दलहरु भागेको आरोप लगाएका थिए । तर भण्डारीले नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै विगतमा संविधान संशोधन गर्न खोज्दा विपक्षमा उभिएर संशोधन फेल गराउने एमाले अहिले पनि त्यही अवस्थामा रहेको बताए ।

आफूहरु संविधान संशोधनकै लागि लडिरहेको बताउँदै भण्डारीले ओलीको भनाईप्रति आपत्ति जनाए । “हामीले के गरौँ, विन्तिपत्र चढाउँ ? संविधान संशोधनको विषयमा हामीले ओली समक्ष गएर विन्तिपत्र चढाउने होइन ।” भण्डारीले भने ।

आफूहरुको अहिलेको प्राथमिकता सरकारमा जाने नभै संविधान संशोधन गर्ने भएको भण्डारीले स्पष्ट पारेका छन् । सरकारमा जाने विषयमा अहिलेसम्म संघीय समाजवादी फोरम र राजपाले कुनै छलफल नगरेको उनको दाबी छ ।

संविधान संशोधन भएपछि सरकारमा जानुपर्ने आवश्यकता देखियो भने चाँही आफूहरु सरकारमा जानसक्ने उनको भनाई छ ।

“संविधान संशोधन नै पहिलो, दोस्रो र तेस्रो प्राथमिकता हो । संशोधन भएपछि हामी सोचौँला ।” भण्डारीले भने ।

फरक प्रसंगमा भण्डारीले ज्येष्ठ नागरिकको मापदण्ड बनाएर मात्रै भत्ताको व्यवस्था गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्