Logo

एमाले र माओवादी नक्कली कम्युनिष्ट हुन्, हाम्रो क्रान्ति जारी छ : मोहन वैद्य



ठूला कम्युनिष्ट दलहरु एमाले र माओवादीबिच पार्टी एकताको प्रक्रिया चलिरहँदा साना कम्युनिष्ट दलहरु भने अस्तित्वविहिन हुन लागेको टिका टिप्पणी हुने गरेको छ । एमाले र माओवादीले संविधानलाई मानेर सोही अनुसार अगाडि बढिरहेका छन् भने केही साना कम्युनिष्ट दलहरु भने क्रान्ति गर्न बाँकी नै रहेको दाबी गरिरहेका छन् । यिनै विषयमा केन्द्रित रहेर नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका महासचिव मोहन वैद्यसँग कुराकानी गरिएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि ऋषि धमलाले लिएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

आज शहीद दिवस मनाईदैछ । शहीदको सपना पूरा भयो ?
शहीदको सपना पूरा भएको छैन । आन्दोलनका नेताहरुले धोका दिदा शहीदको सपना पूरा हुन सकेन ।

नेकपा एमाले र माओवादीबिच पार्टी एकता प्रक्रिया अगाडि बढिरहेको छ । एकता सम्भव होला ?
यो एकता सम्भव हुन्छ कि हुँदैन भन्ने कुरा अझै भन्न सकिदैन ।

के कारणले भन्न नसकिने अवस्था आएको हो ?
मूलभूत रुपमा सिद्धान्तको कुरा गर्नुहुन्छ भने उहाँहरुले सिद्धान्त छोडिसक्नुभयो । अब लेनदेनमा चाँही कति मिल्ने हो कति नमिल्ने हो । यही लेनदेनकै कारणले एकता हुँदै नि जस्तो पनि लाग्छ । भन्न त एकता गरेरै छाड्छौँ भन्नुभएको छ । यसअर्थमा एकता हुन्छ कि भनेर बुझ्न पनि सकिन्छ । तर मिलाउनुपर्ने कुरा धेरै भएकाले गारो देखिन्छ । ठोकेर भन्न सकिने अवस्था छैन ।

एकताका लाग खास विवाद वा समस्या के देख्नुभएको छ ?
नीतिमा त विवाद हुँदैन । नेतृत्वको बारेमा भन्न सकिदैन । नीतिको कुरा त उहाँहरुबिच सबै मिलिसकेको छ । नेतृत्वको विषयमा भने विवाद छ भन्ने लाग्छ ।

नेतृत्वको भागबण्डा कसरी गर्दा उचित होला ? तपाईको सुझाब के छ ?
बाहिरबाट हेर्दा दुईवटा पद नै महत्वपूर्ण भएकाले त्यसलाई बाँडफाँट गर्नु नै उचित होला । माओवादीले पनि त्यही भरिहेको छ । तर एमालेको मन नरमाएको जस्तो बुझिन्छ । यही विषयमा बहस र विवाद छ ।

अब तपाईले नेतृत्व गरेको पार्टीको भूमिका त केही पनि देखिएन है ?
अब भविष्य त हाम्रो पो आयो भन्नुस् । किनभने उहाँहरुले आफूलाई कम्युनिष्ट भन्नुहुन्छ, तर उहाँहरु कम्युनिष्ट नै होइन । वैचारिक र सैद्धान्तिक रुपले भन्नुपर्दा त उहाँहरुले केही पनि बाँकी राख्नुभएको छैन । त्यसकारण एमाले र माओवादीलाई कम्युनिष्ट मान्ने पक्षमा हामी छैनौँ । त्यो त नामधारी ब्राण्ड मात्रै हो ।

तर जनताले त उहाँहरुलाई नै भोट दिए नि?
जनताहरुले त कम्युनिष्ट भनेरै भोट दिएका हुन् । तर वास्तवमा उहाँहरुले कम्युनिष्टको सैद्धान्तिक मूल्य र मान्यता मान्नुभएको छैन । राजनीतिक र सैद्धान्तिक मूल्य र मान्यता केही पनि नभएकाले उहाँहरु कम्युनिष्ट होइन । उहाँहरु कम्युनिष्ट नरहेपछि अब अरु सच्चा क्रान्तिकारी कम्युनिष्टहरु एकताबद्ध भएर जानुपर्ने समय आएको छ । अब नयाँ अध्याय सुरु हुन्छ ।

नयाँ अध्याय सुरु गर्नका लागि तपाईले अरु कम्युनिष्ट पार्टीसँग वार्ता छलफल गर्नुभएको छ ?
भएकै छ भन्नुस् । कुराकानीहरु त अलिअलि भएकै छ । सच्चा क्रान्तिकारीहरुलाई गोलबन्द गर्नुपर्छ भनेर लागेकै छौँ ।

पार्टी एकता गर्न लाग्नुभएको हो ?
प्रयास छ । तर अब कसरी जान्छ थाहा छैन । अहिले एकीकरण र ध्रुविकरण दुवै आवश्यक पर्ने भयो । अब सच्चा क्रान्तिकारीहरुले गम्भीरता पूर्वक सोच्नुपर्ने हुन्छ । माओवादी केन्द्र र एमालेमा रहेका सच्चा क्रान्तिकारी नेताहरुले पनि सोच्नुपर्छ । नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ ध्रवीकरणको खाँचो छ ।

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीसँग एकता गर्न लाग्नुभएको हो ?
हाम्रो प्रयास छ । तर अब के हुन्छ थाहा छैन ।

जनमतको नेतृत्व एमाले र माओवादीले गर्ने भयो । तपाईहरु केको नेतृत्व गर्नुहुन्छ ?
यो खालको मतदानबाट मात्रै जनमत नापिदैन । जनमतको कुरा गर्नुहुन्छ भने उहाँहरुले भोट पाएको कम्युनिष्ट भनेर हो । तर उहाँहरु कम्युनिष्ट होइन । भोली गएर यो भ्रम क्लियर हुन्छ । किनभने उहाँहरुले जनताको चाहना पुरा गर्न सक्नुहुन्न । अहिले नेपालमा नक्कली र सक्कली दुईथरी कम्युनिष्ट छन् । यस्तै नक्कलीको जमाना आयो । त्यसैले सक्कली कम्युनिष्टलाई गारो छ अब ।

अब तपाई क्रान्ति गर्न सक्ने अवस्थामा हुनुहुन्न । क्रान्तिको बाटो छोडिदिए हुँदैन ?
त्यस्तो अवस्था छैन । क्रान्ति हुन्छ । तर समय लाग्छ । शहीदको सपना साकार पार्ने र जनताको चाहना पूरा गर्ने कुरासँग क्रान्तिको सम्बन्ध छ । क्रान्तिका लागि जतालाई प्रष्ट पार्नसक्नुपर्छ । जनता कुनै बेला ब्यूझिन्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot