Logo

स्वराजको भ्रमणपछि दुई देशबिचको सम्बन्धबारे अहिले अनुमान गर्न सकिदैन : भट्टराई



१७ माघ, काठमाण्डौ । नेकपा एमालेका नेता डा. राजन भट्टराईले नेपाल र भारतबिचको सम्बन्ध सुमधुर बनाउनु पर्छ भन्ने नै एमालेको नीति रहेको स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भट्टराईले विगतका अप्ठ्यारा र नकारात्मक सम्बन्धलाई विर्सेर सम्बन्ध राम्रो बनाउनुपर्ने बताए ।

निर्वाचन भइसकेपछिको नयाँ परिवेशमा सोही अनुसार भारतले नेपाली जनताको चहना भारतले बुझ्नपर्छ भन्ने मान्यता एमालेको रहेको उनको भनाई छ । परराष्ट्रसम्बन्धी जानकारसमेत रहेका भट्टराईले आजका आवश्यकताका आधारमा सम्बन्ध अगाडि बढाउनुपर्ने बताए ।

भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको टेलिफोन वार्ता तथा ओलीले मोदीलाई लेखेको पत्र सम्बन्ध सुधारकै प्रयास भएको उनको भनाई छ ।

भारतीय विदेश मन्त्री शुष्मा स्वराजको नेपाल भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध थप राम्रो हुनसक्ने भए पनि अहिले नै भन्न सकिने अवस्था नरहेको भट्टराइले बताएका छन् ।

“सम्बन्ध राम्रो हुन्छ भन्ने भोलीको कुरा अहिले म भन्न सक्दिन । भविष्यको बारेमा धेरै बताउन चाहन्न । तर हुनुपर्छ ।” उनले भने ।
तर सम्बन्ध राम्रो भएको खण्डमा नै दुई देशको हित हुने उनको भनाई छ ।

केपी ओली भावी प्रधानमन्त्री पक्का भइसकेको अवस्थामा मोदी र ओलीबिच एक महिनाको बिचमा दुई पटक टेलिफोन वार्ता भएको उल्लेख गर्दै भट्टराईले सम्बन्धलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने नै मूल विषय भएको बताए ।

“हामीलाई अन्तर्राष्ट्रिय सहयोग र सद्भाव आवश्यक पर्छ । त्यसका लागि वातावरण हामी निर्माण गछौँ ।” उनले भने ।

केपी ओलीले अबका दिनमा भारतलाई नचिढ्याइकन काम गर्ने मनस्थितीमा हो भन्ने धमलाको प्रश्नमा भट्टराईले भारतलाई ओलीले कहिल्यै पनि नचिढ्याएको दाबी गरे । “हामीले भारतसँग राम्रो सम्बन्ध राख्दा नै नेपाल र भारत दुइवतै देशको हित हुन्छ । दुवै देशका जनताको पनि हित हुन्छ । नेपालको हित बाहेक अर्को ढंगले सोच्ने नै होइन ।” भट्टराईले भने ।

भारतले विगतमा नेपाललाई हेर्ने नजर अहिलेको समयमा बदलोस भन्ने आफूहरुको चाहना भएको उनले बताए ।

“आजको नेपाल र भारतको सम्बन्ध हिजोको जस्तो छैन है, त्यसरी हेरिनुहुँदैन । मुलुक सानो ठूलो, आर्थिक रुपमा सम्पन्न होस् वा विपन्न, जनसंख्या धेरै होस् वा थोरै सामरिक रुपमा शक्तिशाली होस् वा कमजोर । तर दुई देश सार्वभौमसम्पन्न छन् भने, सम्बन्ध पनि पारस्परिक हित, समानाता, सम्मान र न्यायोचित आधारमा अगाडि बढ्नुपर्छ ।” भट्टराईले भने ।



प्रतिक्रिया दिनुहोस्