Logo

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा आमूल सुधार हुनुपर्छ : उपराष्ट्रपति



काठमाडौँ, २३ माघ (रासस) : उपराष्ट्रपति नन्दबहादुर पुनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर आमूल रुपमा सुधार गरिनुपर्ने बताउनुभएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीमा रहेको बालउद्धार माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सरकारले वार्षिक रु १४ हजारभन्दा बढी खर्च गर्दा पनि गुणस्तरमा सुधार हुन नसकेको बताउनुभयो ।

“वर्तमान शिक्षा प्रणालीबाट समाजमा दरार उत्पन्न भएको छ, सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि आन्दोलन नै शुरु गर्नुपर्ने भएको छ, सामुदायिकको गुणस्तर खस्कँदा निजी विद्यालय फस्टाएका छन्”, उहाँले भन्नुभयो ।

सामुदायिक विद्यालयका बारेमा अभिभावक÷जनताको चासो नहुनु, शिक्षक÷विद्यार्थी गम्भीर नहुनु र पाठ्यक्रममा सुधार नभएका कारण गुणस्तरमा ह्रास आएको उपराष्ट्रपति पुनको भनाइ थियो । तीनै तहको निर्वाचन भएर जनप्रतिनिधि निर्वाचित भएपछि देश समृद्धिको युगमा प्रवेश गरेको उहाँले सुनाउनुभयो । संविधानअनुसार शिक्षा स्थानीय सरकारको जिम्मेवारीमा रहेकाले रोजगारमूलक एवम् वैज्ञानिक प्रणालीको व्यवस्था गर्न उपराष्ट्रपति पुनले सुझाव दिनुभयो ।

काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्ण राईले संविधानको धारा, ३१ मा आधारभूत शिक्षा निःशुल्क दिने व्यवस्था गरेकाले गुणस्तरीयतामा जोड दिने बेला आएको सुनाउनुभयो । “सामुदायिक विद्यालयमा काम गर्नेले आफ्ना सन्तान निजी विद्यालयमा पढाएका छन्, संविधानको अनुसूची ८ मा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिएकाले यसमा ध्यान दिइनुपर्छ”, उहाँले भन्नुभयो ।

काठमाडौँ क्षेत्र नं ३ प्रदेशसभा (ख)का सांसद रामेश्वर फुयाँलले अब बन्ने प्रदेश एवम् संघीय सरकारले शिक्षामा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । “जीवनोपयोगी रोजगारमूलक शिक्षा दिने गरी अबको सरकारले बजेट पनि बढाउनुपर्छ, ठाउँठाउँमा प्राविधिक शिक्षालयको स्थापना गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले नगरपालिकामा १६ सामुदायिक र ३९ निजी विद्यालय रहेको जानकारी दिनुभयो । “सामुदायिक विद्यालयका विद्यार्थी अंग्रेजी र निजी विद्यालयका विद्यार्थी नेपालीमा कमजोर छन्, माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन नगरपालिकाले गर्ने भएपछि कक्षा ८ को परीक्षा लिन आवेदन फारम लिइएको छ”, उहाँले भन्नुभयो ।

विद्यालयका प्रधानाध्यापक विनोदप्रसाद ढकालले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको तामाङ बस्तीमा रहेको विद्यालयमा हाल ३६५ विद्यार्थी अध्ययनरत रहेको जानकारी गराउनुभयो । पाँच वर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेको विद्यालयले हालसम्म माध्यमिक शिक्षा परीक्षा (एसइई) मा शत्प्रतिशत उत्तीर्ण गरेको सो अवसरमा सुनाइयो । त्यसअघि प्रवेशिका परीक्षामा पनि विद्यालयले शत्प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार लामा, नगरपालिका–१ का अध्यक्ष मुकुन्द गजुरेल लगायतले गुणस्तर सुधारमा अझै प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा उपराष्ट्रपति पुनले स्वर्ण महोत्सव स्मारक अनावरण गर्नाका साथै स्वर्ण जयन्ती स्मारिकाको पनि विमोचन गर्नुभयो । कार्यक्रममा साबिकको गागलफेदी गाविसका पूर्वअध्यक्ष विश्वराज श्रेष्ठले रु ५० हजार राशिको अक्षयकोष स्थापनाका लागि हस्तान्तरण गर्नुभयो । यो कोषबाट वार्षिक रुपमा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।

स्थानीय मानसिंह लामाको सक्रियतामा २०२५ साल माघ २३ गते विद्यालयको स्थापना भएको थियो ।



प्रतिक्रिया दिनुहोस्