Logo

सुशासन र विकास कायम गर्न सकिएन भने हामी असफल हुन्छौँ : मुख्यमन्त्री राउत



फागुन ५, काठमाण्डौ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विकास र समृद्धि नै आफ्नो मूल एजेण्डा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै राउतले प्रदेश नम्बर दुईका जनताको चाहना र शहीदको सपना पूरा गराउनका लागि आफू अघि बढ्ने बताएका हुन् ।

समृद्धिको एजेण्डासहित संघीय समाजवादी फोरमले संविधान संशोधनको एजेण्डा नछोड्ने उनले स्पष्ट पारेका छन् । फोरमका उपाध्यक्षसमेत रहेका राउतले सबै जनतालाई न्याय दिलाउनका लागि संविधान संशोधनको आवश्यकता रहेको बताए ।

राउतले आगामी दिनमा मुलुकलाई द्धन्द्धमा जानबाट रोक्नका लागि संशोधन गर्नु आवश्यक रहेको स्पष्ट पारे ।
उत्पिडनमा परेका जनतालाई विकासको अनुभूति दिलाउन आफू प्रतिबद्ध रहेको दाबी गर्दै राउतले संविधान संशोधन पनि आवश्यक रहेका औँल्याएका छन् ।
प्रदेश नम्बर दुईका जनताले समृद्धि र विकास चाहेको बताउँदै राउतले त्यसका लागि आफू काम गर्ने बताए ।

समृद्धि र सुशासन कामय गर्दै भ्रष्टाचार र कुशासनको अन्त्य गर्नका लागि नै फोरमको नेतृत्वमा सरकार बनेको राउतको दाबी छ । ढिलासुस्ती र अनियमितता रोक्नका लागि आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको उनले बताए ।

“भ्रष्टाचारी गर्ने, अनियमिता गर्ने र साधन स्रोतको उचित प्रयोग नगर्नेलाई प्रदेश नम्बर दुईको सरकारले कारबाही गर्छ । सुशासन र विकासकै लागि सरकार गठन भएको हो । यो काम गर्न सकिएन भने हामी असफल हुन्छौँ ।” राउतले भने ।

राउतले प्रदेश नम्बर दुईको मन्त्रीमण्डललाई जतिसक्दो चाँडो पूर्णता दिने बताए । राजपाका तर्फबाट आउनुपर्ने मन्त्रीको नाम नआएकाले अहिले मन्त्रीमण्डल पूर्ण नभएको बताए ।

केन्द्रिय सरकारमा भने फोरमको सहभागिता अनिश्चित रहेको राउतले बताए । एमाले र माओवादी आफूहरुले उठाएको संविधान संशोधनको मुद्दाका बारेमा स्पष्ट धारणा नल्याएसम्म सरकारमा सहभागि हुने वा नहुने केही भन्न नसकिने बताए ।



प्रतिक्रिया दिनुहोस्