Logo

चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री र प्रचण्डबीच भेटवार्ता



एकीकृत पार्टीलाई सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं, ८ फागुन । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री र अध्यक्ष प्रचण्डबीच भेटवार्ता सम्पन्न भएको छ ।

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज बिहान भएका भेटका अवसरमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा चीन र नेपालका बीच आपसी सहयोगका बारेमा छलफल भएको थियो ।

भेटका अवसरमा वहाँले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताका लागि ७ बुँदे सहमतिका बारेमा जिज्ञासा राख्नु भएको थियो ।

अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि पार्टी एकता गर्ने निर्णयमा दुबै पार्टी पुगेको बताउँदै यो नेपाली इतिहासमा दूरगामी परिघटना भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले आर्थिक विकास गरेर समाजवादको लामो यात्रामा जाने उद्देश्यसाथ सुरु भएको एकताले नेपाली विशेषता अनुरुपको समाजवादको सैद्धान्तिक कार्यदिशा निर्माण गर्ने समेत बताउनुभयो ।

चिनियाँ उपमन्त्रीले दुई पार्टीको एकीकरणको स्वागत गर्नुहुँदै यो एकताले राजनीतिक स्थायित्व र विकासका निम्ति धेरै ठूलो काम गर्ने बताउनुभयो । चीन सरकारसँग यसअघि भएका सम्झौताहरुलाई व्यवहारमा रुपान्तरण गर्ने बताउनुहुँदै वहाँले एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालको स्थायित्व, समृद्धि र विकासका लागि चीन सरकारले नेपाल सरकारलाई विगतदेखि पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै भविष्यमा झन ठूलो सहयोग गर्ने समेत वहाँले बताउनुभयो ।

भेटका अवसरमा उपमन्त्री येझाऊले अध्यक्ष प्रचण्डलाई चिनियाँ राष्ट्रपती शी जिनपिङले लेख्नुभएको पुस्तक “द गभर्नेन्स अफ चाइना–२” हस्तान्तरण गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्