Logo

मन्त्री बन्नका लागि लबिङ गरेको छैन, पार्टीले उचित मूल्याङ्कन गर्नुपर्छ : विष्ट



फागुन ११, काठमाण्डौ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमाले–माओवादीबिच पार्टी एकताका लागि गठन गरिएको दुई कार्यदलले १५ दिनभित्र प्रतिवदेन बुझाएपछि एकता प्रक्रिया टुङ्गो लाग्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै विष्टले प्रतिवेदन बनाउने काम सुरु भइसकेकाले छिटै एकता हुने बताए ।

राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदलले सात बुँदै सहमतिलाई आधार बनाएर प्रतिवेदन पेश गर्ने भएकाले समस्या नरहेको उनको जिकिर छ ।

केही विवादित राजनीतिक विषयलाई महाधिवेशनमा लगेर टुङ्ग्याउने सहमति भइसकेकाले अहिले कुनै समस्या नहुने उनको दाबी छ ।

मन्त्रीपरिषद विस्तारमा कुनै समस्या नरहेको दाबी गर्दै विष्टले अहिलेसम्म दुई दल छुट्टाछुट्टै भएकाले केही ढिला भएको बताए ।

आज बस्ने स्थायी समितिको बैठकले एकता प्रक्रिया लगायतका विषयमा छलफल गरिने उनले जानकारी दिए ।

तपाई मन्त्री बन्नका लागि नेताहरुको घरदैलोमा पुग्नुभएको छ भन्ने धमलाको प्रश्नमा विष्टले आफू कहीँ पनि नपुगेको दाबी गरे ।

“म मन्त्री बन्नुपर्छ भनेरे मैले कसैलाई पनि दबाब दिएको छैन । पार्टीका आवश्यकता र व्यक्तिका कामका आधारमा मूल्याङ्कन हुनुपर्छ । सबैले आफूलाई योग्य ठान्छन् । तर आजको आवश्यकता अनुसार पार्टीले निर्णय गर्नुपर्छ ।” विष्टले भने ।

काम गर्नका लागि धेरै क्षेत्र हुने भन्दै उनले मन्त्री नै बन्नुपर्छ भन्ने मान्यतामा आफू नरहेको उनले बताए ।

“म मन्त्री बन्ने वा नबन्ने कुरा महत्वपूर्ण विषय होइन । महत्वपूर्ण विषय भनेको नेपालको समस्या हो । समस्याको समाधान खोज्दै जनतालाई सुखी र देशलाई सम्मानित बनाउनु हो । यस विषयमा केपी ओली नेतृत्वको सरकारले अगुवाई गर्नुपर्छ ।” विष्टको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्