Logo

राष्ट्रपतिबाट शान्ति स्थापनार्थ खट्टिई जाने फौजको निरीक्षण



काठमाडौं, १४ फागुन । राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ UNMISS Mission, दक्षिण सुडानमा तैनाथ हुन जाने श्री दुर्गा बक्स गण (शा.से.) आठौं डफ्फाद्वारा पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत गरेको Pre-Deployment तालिमको निरीक्षण, तथा उक्त मिशनमा भाग लिन जाने शान्ति सैनिकहरुलाई सम्बोधन सहित तालिमको समापन गर्नु भएको छ ।

उक्त समापन समारोहको अवसरमा सम्माननीय राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति श्रीमती विद्यादेवी भण्डारीले सम्बोधन गर्नु हुँदै नेपाली सेना आफ्नो देशमा मात्रै नभई विदेशका द्धन्द्धरत स्थलहरुमा शान्ति सु–व्यवस्था कायम गर्न उच्च हौसलाका साथ संलग्न रहेको कुरा बताउनु भएको छ ।

सोही क्रममा उहाँले संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना गर्ने पवित्र तथा महान कार्यमा सहभागी हुन “माता शक्ति देऊ, गर्न देश भक्ति” भन्ने आर्दश वाक्य रहेको श्री दुर्गाबक्स गणमा सम्मिलित भई जान लाग्नु भएका सैनिक सकलदर्जाहरुले विगतमा नेपाली वीर सैनिकहरुले आर्जेको नेपाल र नेपालीहरुको छवि उच्च राख्ने प्रण गर्दै शान्ति स्थापना गर्ने कार्यमा निष्ठा र ईमान्दारीताका साथ समर्पित हुनु हुनेछ भन्ने विश्वास ब्यक्त गर्नु भएको छ ।

सम्बोधनको क्रममा उहाँले नेपाल सरकारको परराष्ट्र नीतिलाई व्यवहारिक रुपमा असरदार बनाई नेपाल र नेपालीको मान, सम्मान र छविलाई विश्व जनसमुदाय र विश्व परिबेशमा उच्च राख्न नेपाली सेनाबाट आजसम्म भएको योगदान प्रति सबै नेपालीहरुले गौरब गर्न सकेको बताउनु हुँदै आफ्नो कार्य क्षेत्रमा आफुलाई एक योग्य शान्ति सैनिकको रुपमा परिचित भई आफ्नो पेशागत दक्षता, मानव अधिकारको उच्च सम्मान, प्रजातन्त्र र प्रजातान्त्रिक आचरण तथा मानवीय सहयोगको भावना राखी कार्य गर्ने विश्वास ब्यक्त गर्नुको साथै शान्ति स्थापना कार्यमा पूर्ण सफलता मिलोस् भन्ने शुभकामना समेत ब्यक्त गर्नु भएको छ ।

निरीक्षणको क्रममा राष्ट्रपतिले उक्त गणद्वारा प्रदर्शन गरेको मिशन ईलाकामा आई पर्ने चुनौती र गर्नु पर्ने कार्यहरु सम्बन्धी विभिन्न अभ्यास तथा प्रदर्शनीहरुको समेत अवलोकन गर्नु भएको नेपाली सेनाले जनाएको छ ।

उक्त कार्यक्रममा प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री, रक्षा सचिव श्री विनोद के.सी., नेपाली सेनाका रथीबृन्दहरु, शान्ति स्थापना कार्यमा खट्टिई जान लाग्नु भएका अधिकृत, पदिक तथा अन्य दर्जाहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्