Logo

टुँडिखेलमा ७५ हजार उपस्थित भएर ‘बुद्ध नेपालमा जन्मेका हुन’ भन्ने सन्देश दिईने



काठमाडौं, १८ फागुन । ‘गौतम बुद्ध नेपालमा जन्मेका हुन’ भन्ने तथ्य सन्देश दिन फागुन १९ गते (भोलि) काठमाडौंको टुँडिखेलमा ७५ हजार मानिसको उपस्थितिमा धम्मपद (बुद्ध वचन) वाचन कार्यक्रम हुने भएको छ ।

उक्त कार्यक्रमको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता आनन्द पोखरेलले बुद्ध नेपालमा जन्मेका हुन भनेर फेरी एकपटक संसारलाई सुनाउनको लागि कार्यक्रम आयोजना गरिएको बताए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा नेता पोखरेलले बुद्धका बारेमा फिजाईएका भ्रमहरुलाई मेट्नको लागि ७५ हजार मानिसले एउटै स्वरमा बुद्ध श्लोक वाचन गरेर विश्वलाई सुनाईने बताएका हुन् ।

उनले भने,‘बुद्ध धर्म शान्ति, सद्भाव, न्यायपूर्ण समाजको प्रतिविम्ब हो, यसलाई कसैले निजी धर्म नठकानीकन सबैको साझा सम्पतिका रुपमा लिनुपर्छ, विश्वमा गौतम बुद्धप्रति भैरहेका भ्रमहरुलाई चिर्नको लागि यो कार्यक्रमको आयोजना गरिएको हो, विश्वका ६ वटा देशका पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मिभएका हुन भनेर लेखिएको छ, हामीले त्यस प्रकारका भ्रमहरुलाई चिर्नुपर्छ ।’

उनले अघि थपे,‘भोलिको कार्यक्रम केबल विश्व रेकर्ड तोड्नको लागि मात्रै होईन स्वाभिमान र राष्ट्रियताको लागि हो, अर्को कुरा ७५ हजार मानिसको नाम रेकर्ड हुने हुँदा सबै जनालाई उपस्थित हुनको लागि आग्रह गर्दछु, बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थितिको लागि समय छुट्याईएको छ ।’

उक्त कार्यक्रमका सद्भावना दुत डा.भोला रिजालले विश्वमा शान्ति र अहिंसाको सन्देश फैलाएका बुद्ध नेपालमा जन्मेको भन्नेबारे कुनैपनि भ्रम नरहेको बताउँदै यो अभियानले सुनियोजित रुपमा गलत सन्देश प्रवाह गर्नेलाई यथार्थलाई प्रष्ट पार्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले गौतम बुद्धको जन्म अवतारको रुपमा भएको दाबी गरेका छन् ।

उनले भने,‘गौतम बुद्ध अवतारको रुपमा जन्मिनुभएको हो, उहाँको नाममा विश्वमा भ्रम छर्ने काम भएको छ, यो कुरा भ्रम हो भनेर भोली हामीले पुष्टि गर्दैछौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले धम्पदमा समावेश श्लोक वाचन गरेर उद्घाटन गर्नुहुँदैछ, देशको लागि ४ घण्टा समय दिनुपर्नेछ, १४ वर्ष माथिका व्यक्तिले सहभागिता जनाउन सक्नुहुनेछ ।’

त्यस्तै क्लबका सभापति ऋषि धमलाले बुद्ध नेपालमा जन्मिएका हुन भन्ने सन्देश हरेक दिन एकपटक संञ्चारकर्मीले वाचन गर्नुपर्ने धारणा राखे ।
उनले भने,‘बुद्धको बारेमा छरिएको भ्रमलाई मेट्नको लागि सञ्चारकर्मीहरुको पनि ठूलो भूमिका रहन्छ, हरेक दिन बुद्ध नेपालमा जन्मिएका हुन भन्ने सन्देश प्रवाह गर्नको लागि म आग्रह गर्दछु ।’

बौद्धगूरु साईफल तेन्जिङ रिम्पोछेले बौद्ध धर्मलाई हत्या, हिँसा र शोषण दमनको बिरोधी धर्मका रुपमा लिएका छन् ।

उनले भने,‘बौद्ध धर्म शान्तिको प्रतिक हो, न्यायपूर्ण समाजको पक्षधर हो, शोषणको बिरोधी हो, आज बुद्ध नेपालमा जन्मिएका हुन भनेर भन्न आवश्यक छ, बुद्धलाई बद्नाम गर्नेकाम ठिक होईन, हामीहरुले भालि एकै स्वरमा बुद्ध नेपालमा जन्मिएका हुन भनेर बोल्दैछौँ, यो समयको माग हो सबैलाई उपस्थितिको लागि हार्दिक आग्रह गर्दछु ।’

साक्षात्कारमा चर्चित नायक निखिल उप्रेतीले राष्ट्रियताको लागि एकजुट हुन आग्रह गरेका छन् ।

उनले भने,‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन भनेर भन्दा हामीलाई किन अफ्ट्यारो हुन्छ? हामीसँग थोरै पनि अनुसाशन र करुणा छ भने त्यो बुद्धको भावना हो, नेपालमा फुलेको बुद्धको फूलले विश्वमा बासना फैलाईरहेको छ, कसै कसैले बुद्धको नाममा भम्रम फैलाउने काम गरेको देख्दा अच्चम लाग्छ ।’

उनले अघि थपे,‘हाम्रो देशमा कुनै राजनीतिक दल ठूलो हुदैगर्दा मुकुक खुम्चिएको जस्तो महसुस हुन्छ, हामीले यो कार्य चर्चाका लागि गरिएको होईन, यो आजको आवश्यकता हो, बुद्धले दरबार छोडेर जीवनभर शान्ति, सद्भावका लागि हिडे, आजको दिनमा पनि दरबारको लागि कोही भौतारि रहेका छन्, भौतिकवादीहरुको सत्यता सबैलाई थाहा छ, राष्ट्रियताको लागि सबै एक ठाउँमा आउनुपर्ने स्थिति छ, अरु कुनै पक्षले नेपालीहरुलाई एक स्थानमा ल्याउने देख्दिन, अब हामीले बुद्धको नाममा एक ठाउँमा आउनुपर्छ ।’

फागनु १९ गते राजधानीको टुडिखेलमा ७५ हजार मानिस जम्मा भएर एउटै स्वरमा ‘बुद्ध नेपालमा जन्मिएका हुन’ भन्ने वचन वाचन गरेर गौतम बुद्ध नेपालमा जन्मेका हुने भन्ने तथ्य संसार सामु चिनाउन विश्व किर्तिमानि परिषद नेपालले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा उपस्थित हुने सबैलाई गिनिज बुक वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिने आयोजक जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्