Logo

देउवाको नाममा सहमति जुट्ने स्थिति छैन, जसको नाममा जुट्छ उसलाई दलको नेता बनाउनुपर्छ : प्रदिप पौडेल



काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले कांग्रेस अब नयाँ शिराबाट अघि बढ्नुपर्ने भएकोले पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा मोह नगर्दा नै राम्रो हुने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘हामी चाहन्छौं दलको नेता सर्वसम्मतीमा चयन होस्, पार्टीभित्र बृहत्त एकताको खाँचो छ, अब गणितको कुरा गर्नुहुन्छ भने उहाँले नै टिकट दिएर सांसद बनेका भोटर्सहरु हुनुहुन्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा नेता पौडेलले जसको नाममा सर्वसम्मती जुट्छ उसैलाई दलको नेता बनाईनुपर्नेमा जोड दिए । उनले भने,‘अहिले सभापति देउवाको नाममा सर्वसम्मती हुने स्थिति देखिएको छैन, त्यसैले उहाँले बरु सर्वसम्मतीको लागि पहल गर्नु जायज हुन्छ।’

मुलुकमा राजनीतिक अवस्था बदलिएकोले अब कांग्रेसले पनि परिस्थितिको ठिक ढंगले आँकलन गर्दै आफूलाई बदल्नुपर्नेमा उनको जोड थियो । उनले थपे,‘अब हिजो हामीले राखेका प्राथमिकताहरु आज अब बदल्नुपर्छ, कांग्रेसले अब नयाँ शिराबाट अघि बढ्नुपर्छ।’

उनले कांग्रेसलाई अब समयसापेक्ष रुपमा सुधार गर्दै अघि बढाउनुपर्ने धारणा राखे । त्यस्तै उनले सोही अनुसार नेतृत्व पनि परिवर्तन गर्नुपर्ने बताए । पौडेलले भने,‘अब शिघ्र महाधिवेशनमा पार्टीलाई लैजानुपर्छ, केन्द्रिय कार्यसमितिमा बृहत्त र गहिराईमा समिक्षा हुनुपर्छ, तर यसको लागि नेतृत्व समिक्षा गर्न तयार भएन्, यो दुःखको कुरा हो।’

मुलुकमा परिवर्तन ल्याउन र ठूला–ठूला उपलब्धि हाँसिल गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसलाई जनताबाट किन मत आएन् ? किन मत दिएनन् ? भन्ने कुराको समिक्षा गर्नुपर्ने पौडेलको भनाई थियो । उनले थपे,‘त्यसैले अब कार्यसमिति बसेर तत्काल महासमिति बैठक बोलाउनुपर्छ, महासमितिले शिघ्र महाधिवेशन गर्नुपर्छ भनेर हामी प्रयत्न गरिरहेका छौं।’

आगामी ५ वर्षको लागि कांग्रेसको भूमिका पूर्ण प्रतिपक्षमा बस्ने भएकोले सोही अनुसार संसदमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने पौडेलले बताए । उनले थपे,‘सरकारका राम्रा कामहरुलाई हामी रचनात्मक रुपमा सहयोग गर्छौं।’ मुलुकमा संक्रमणकालिन अवस्था समाप्त भएकोले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई विकास र समृद्धिको यात्रामा अघि बढ्न अब कुनै वहाना नभएको उनले जिकिर गरे ।

एमाले–माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारले दुई तिहाई जुटाउनको लागि पहल गरिरहेकोले अब यो सरकारलाई काम गर्न पाईन भन्ने कुनै छुट नहुने उनको भनाई थियो । उनले भने,‘सरकारले गरेका राम्रा कामहरुको कांग्रेसले विरोध गर्दैन्, यदि गर्यो भने आँफै समाप्त हुन्छ, तर सरकारले ईमानदार प्रयास गर्नुपर्छ, उहाँहरुको लोकतान्त्रिक मुल्यप्रति हाम्रो कुनै आशंका छैन, तर यदि त्यस्तो भयो भने हामी खबरदारी गर्छौं।’



प्रतिक्रिया दिनुहोस्