Logo

चैतको दोस्रो हप्ताभित्र पार्टी एकता घोषणा हुन्छ : रावल



फागुन २०, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले चैतको दोस्रो हप्ताभित्र एमाले–माओावदीबिच पार्टी एकता घोषणा गरिने बताएका छन् ।

अन्तरिक विधान र राजनीतिक प्रतिवेदन यही २५ गतेभित्र तयार गर्ने निर्णय भएको जानकारी दिदै रावलले त्यो प्रस्तुत भएपछि पार्टी एकता संयोजन समितिले पारित गर्ने बताए ।

त्यसपछि पुनः पार्टीभित्र आन्तरिक छलफल गरेर विधिवत रुपमा पार्टी एकताको घोषणा गरिने रावलले बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता रावलले दुवै पार्टीका नेताहरुले अहिले खेलेको भूमिकालाई मध्येनजर गर्दै सांगठनिक संरचना तयार भइरहेको बताए ।

अहिले बन्ने संरचना आगामी महाधिवेशनसम्मका लागि मात्रै हुने रावलले बताए ।

“पार्टी संगठनलाई प्रभावकारी रुपमा संचालन गर्ने, हाम्रा आजका चुनौतिहरुको सामना गर्ने र प्रभावकारी रुपमा सरकार संचालनका लागि मद्दत पुग्ने गरी संगठनको संरचना बनाउने विषयमा नीतिगत रुपमा सहमति भएको छ ।” रावलले भने ।

कार्यदलले नीतिगत रुपमा मात्रै छलफल गरिरहेको जानकारी दिदै रावलले ठोस रुपमा यस्तै हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको बताए ।

“छिटो छरितो र प्रभावकारी कमिटी कसरी निर्माण गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।” रावलले भने ।

“स्थानीय निकायका वडा तहदेखि केन्द्रसम्मको संगठन निर्माण गर्छौँ । त्यति मात्रै होइन, पेशागत र सामुदायिक अर्थात जनसंगठन पनि समायोजन गर्छौँ ।”

नेता रावलले संघीय समाजवादी फोरमसँग सहमति भएपछि सरकारले पूर्णता पाउने बताए ।

अहिलेसम्म फोरमसँगको छलफल सकारात्मक भएको भन्दै उनले राष्ट्रहितमा हुने गरी सहमति गरिने बताए ।



प्रतिक्रिया दिनुहोस्