Logo

सगरमाथा आरोहणको तयारीमा रहेका युवा महिला पत्रकारद्वारा प्रचण्डसँग भेट



काठमाडौं, फागुन २० । नेपाली मिडियामा कार्यरत पाँच जना महिला पत्रकारहरुले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आवश्यक सहयोगको पहल गरिदिन अध्यक्ष प्रचण्डसमक्ष अनुरोध गरेका छन् ।

अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर महिला युवा पत्रकारहरुले सगरमाथा आरोहणको इतिहासमा नै नयाँ कीर्तिमान राख्ने किसिमले आरोहण गर्न गइरहेको जनाउँदै सरकार र पार्टीका तर्फबाट आवश्यक सहयोगका लागि अध्यक्ष समक्ष अनुरोध गरेका थिए ।

“फस्र्ट वुमेन जर्नालिष्ट्स एभरेष्ट एक्सपेडिसन २०१८” अभियान अन्तर्गत आउँदो अप्रिलमा सगरमाथा आरोहणको तयारीमा रहेको महिला पत्रकारहरुको समूहले सरकारबाट रोयल्टी छूटदेखि अन्य सहयोगका लागि अनुरोध गरे । नेपाल टेलिभिजनमा कार्यरत रोजिता बुद्वाचार्यको नेतृत्वमा आएको टोलीले अध्यक्ष प्रचण्डसमक्ष यो आरोहणका समूहगतरुपमा महिला पत्रकारहरुले आरोहण गर्न लागेको पहिलो घटना हुने र दीगो विकासको झण्डा सगरमाथामा फहर्याउने समेत बताएका थिए ।

अध्यक्ष प्रचण्डले युवा पत्रकारिता पेशामा संलग्न युवा महिला पत्रकारहरुको सगरमाथा आरोहणबाट महिलाहरुको सशक्तिकरणदेखि अन्य क्षेत्रमा समेत उर्जा प्रवाह गर्ने बताउनु भयो । अध्यक्ष प्रचण्डले युवा उमेरमा सगरमाथाको आरोहण जस्तो चुनौतीपूर्ण काम गर्न खोजेकोमा अग्रीम बधाई दिनुहुँदै सरकार र पार्टीका तर्फबाट आवश्यक सहयोगका लागि पहल गर्ने आश्वासन दिनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्