Logo

प्लाष्टिकका झोला उत्पादन र आयातमा रोक लगाउँछु : मन्त्री पण्डित



फागुन २१, काठमाण्डौ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले देशका प्रमुख शहरहरुको वातावरण प्रदुषण नियन्त्रणका लागि काम सुरु भइसकेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री पण्डितले धेरै वर्ष लागेर बिग्रिएको काठमाणडैको वातावरण एकै रातमा ठिक पार्न नसकिने भन्दै देशभरका प्रमुख शहरहरुमा एक वर्षभित्रमा माक्स लगाउन नपर्ने गरी काम सुरु गरेको बताए ।

धुलो नियन्त्रणका लागि अन्य विकास निर्माणका काम गरिरहेका निकायसँग समन्वय गर्दै दिनमा चारपटक पानी हालेर धुलो मार्ने काम सुरु भइसकेको उनले बताए ।

धुवाँ धुलो हुनुको ९० प्रतिशत कारण डिजेलबाट चल्ने गाडी भएकाले वैशाख १ गतेदेखि महानगरपालिका र उपमहानगरपालिकामा हरियो स्टिकर नलगाएका गाडीलाई प्रवेश निषेध गरिने उनले बताए ।

किनेर वा गलत तरिकाले हरियो स्टिकर लिएर प्रयोग गरेको पाइए त्यस्तो स्टिकर दिने कर्मचारी र गाडी मालिकलाई कारबाही गरिने उनले बताए ।

कतिपय उद्योग,जसले धुवाँ फालेका छन्, तिनलाई धुवाँ धुलो नियन्त्रण गर्ने व्यवस्था गर्न निर्देशन दिइएको उनले बताए ।

त्यसैगरी प्लाष्टिकका झोला उत्पादन र आयातमा रोक लगाइने पण्डितले बताए ।
माटोमा कुहिने खालका प्लाष्टिक मात्रै प्रयोग गर्न दिईने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्