Logo

अध्यक्ष प्रचण्ड र नर्वेका विकास मन्त्री निकोलाई अस्ट्रुपबीच भेटवार्ता



काठमाडौं, २४ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र नेर्वेका विकास मन्त्री निकोलाई अस्ट्रुपबीच भेटवार्ता सम्पन्न भएको छ ।

भेटका अवसरमा अध्यक्ष प्रचण्डले मन्त्री निकोलाई अस्ट्रुपलाई नेपालको शान्ति प्रक्रियामा नर्वेले गरेको सहयोगको लागि धन्यवाद दिनुभयो ।

भेटमा अध्यक्ष प्रचण्डले नेपालमा संक्रमणकालिन अवस्था अलिक लामो भएतापनि मुख्य राजनैतिक दलहरुको सहमतिमा संविधान सभाबाट संविधानको घोषणा र सफलतापूर्वक संघीय संरचना अन्तर्गतका तीनै तहको निर्वाचन सम्पन्न गरेको बताउनुहुँदै राजनैतिक संघर्षबाट प्राप्त उपब्धिहरुलाई संस्थागत गर्दै अबको प्राथमिकता स्थायित्व, सुशासन, विकास र समृद्धि हासिल गर्ने रहेको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले आगामी दिनमा पूर्वाधार निमार्ण, जलविद्युत, पर्यटन, कृषि, उद्योग र शिक्षा क्षेत्र विशेष जोड दिने समेत बताउनुभयो । अध्यक्ष प्रचण्डले २१औं शताव्दीमा विकास भएको प्रविधि र विदेशी पूँजीलाई देशमा भित्र्याउने वातावरण बनाउने जानकारी समेत भेटका अवसरमा गराउनुभयो ।

अध्यक्ष प्रचण्डले हरेक राजनैतिक परिवर्तन र त्यसपछि पैदा भएका चुनौतिहरुलाई राजनैतिक सहमतिको आधारमा सामना गर्दै आएको बताउनुहुँदै शान्ति प्रक्रियाको मुख्य काम सेना समायोजन र हतियार व्यवस्थापन जसरी सफतापूर्वक सम्पन्न गरियो त्यसरी नै सत्य निरुपण तथा मेलमिलाप आयोग, वेपत्ता छानविन आयोग मार्फत् बाँकी काम पनि सफलतापूर्वक सम्पन्न गर्न सक्छौं भन्ने दृढ विश्वास राख्दै अन्तर्राट्रिय समुदायलाई विश्वस्त रहन आग्रह गर्नुभयो ।

भेटका अवसरमा मन्त्री निकोलाई अस्ट्रुपले नेपालमा स्थायित्व र समृद्धिको सकारात्मक संकेत देखिएको बताउनु भयो । उहाँले वर्तमान राजनैतिक स्थिति र विकासबारे चासो राख्नुहुँदै विशेसतः नेपालमा जनविद्युतको विकासबारे जिज्ञासा राख्नुभयो । उहाँले आफ्नो नेपाल वसाईको क्रममा खिम्ति जलविद्युत आयोजनाको अवलोकन गरेको जानकारी समेत गराउनुभयो ।



प्रतिक्रिया दिनुहोस्