Logo

मुलुकले छिट्टै महिला प्रधानमन्त्री पाउँछ : भुषाल



काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य एवम् सांसद पुष्पा भुषालले महिलाहरु यो देशको प्रधानमन्त्री र पार्टीको नेतृत्व लिन सक्षम रहेको स्पष्ट पारेकी छिन् । उनले भनिन्,‘महिलाहरु प्रधानमन्त्री बन्न सक्षम छन्, पार्टीभित्र पनि महिलाहरु नेतृत्व लिन सक्षम छन्।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले १०८ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेतृ भुषालले अहिलेपनि सामाजिक, साँस्कृतिक र आर्थिक रुपमा जेण्डर ग्यापको अवशेष बाँकी रहेको गुनासो पोखिन् । उनले भनिन्,‘महिलाहरुमा चेतना व्यापक अभिवृद्धि भएको छ, नेपाली महिला आन्दोलनको ईतिहाँसमा योगमाया, मंगलादेवी, सहाना प्रधान, शैलजा आचार्यहरुको योगदान उल्लेखनीय र अतुलनीय छ, उहाँहरुको योगदानबाट प्राप्त अधिकारलाई अब सफल रुपमा कार्यान्वयन गर्नुपर्छ।’

यद्धपी उनले अझैपनि महिलाहरुलाई हेर्ने सोचमा फरक रहेको सुनाईन् । उनले थपिन्,‘अवसरको खोजी पनि अर्को चूनौति छ, श्रम अनुसारको ज्याला हुनुपर्छ भनेर आजभन्दा १०८ वर्ष सुरु भएको हो, तर म भन्छु महिलाहरुसहितको सामूहिक प्रयासमा अब हामी सबै बढ्नुपर्छ।’

त्यस्तै उनले स्थानीय, प्रदेश सभा र संघीय सभामा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित भएसँगै संख्यात्मकबाट अब गुणात्मक रुपमा अघि बढ्नुपर्ने बताईन् । उनले भनिन्,‘अधिकार प्राप्ति भएसँगै अब कार्यान्वयमा जानुपर्छ, हामी महिलाहरुको पनि अब नयाँ भूमिका हुनुपर्छ।’

पार्टीको आन्तरिक संरचना तथा नीति निर्माण तहमा महिला सहभागिता वृद्धि गर्नुपर्ने पनि उनको भनाई थियो । उनले शहरमाजस्तो अधिकार गाउँमा नपुगेसम्म अधिकारको खास मुल्य नहुने जिकिर गरिन् ।

भुषालले थपिन्,‘नेपाली सोसाईटीको केमेष्ट्री मिलाउनुपर्छ, समाज महिलामैत्री बन्नुपर्छ।’ उनले नेपाली कांग्रेस तुलनात्मक रुपमा अरु पार्टीभन्दा उदार रहेको सुनाईन् । ‘अब महिलाहरु पनि निर्णय गर्ने ठाउँमा पुग्नुपर्छ, महिलाहरु चुनाव जितेर आउन सक्षम हुनुहुन्छ, हिजो शैलेजाजी जलश्रोत मन्त्री बन्दा धेरै राम्रो काम गर्नुभयो, हामी महिला पनि सक्षम छौं नि।’ उनले थपिन्।

महिलाहरु सांसद, सभामुख, उपप्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रपति बनिसकेकोले मुलुकका कार्यकारी पद प्रधानमन्त्री पनि बन्न सक्ने क्षमता महिलाहरुमा भएको उनको तर्क थियो । उनले भने,‘महिलाहरु प्रधानमन्त्री हुन नसक्ने कुनै कारण छैन।’

विकास, सुशासन र भ्रष्टाचार अन्त्यको लागि पनि महिलाहरु मुल प्रवाहमा आउनु जरुरी रहेको भुषालको तर्क थियो । यद्धपी उनले नेपालका राजनीतिक दलहरुभित्र संगठनमा पुरुषहरु बढि हाबी भएको गुनासो पोखिन् । उनले मुलुकले छिट्टै महिला प्रधानमन्त्री पाउने जिकिर गरिन् ।



प्रतिक्रिया दिनुहोस्