Logo

खाद्यान्न आयातमा ठूलो रकम विदेशिने अवस्था अन्त्य गर्नु जरुरी छ : प्रचण्ड



काठमाडौं, २४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कृषि क्षेत्रमा पर्याप्त ध्यान नदिँदा खाद्यान्न आयातमा ठूलो धनराशी खर्चिनु परेकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।

राजधानीमा आयोजित “दीगो मत्स्यकी तथा मत्स्यपालनमा विविधिकरण” सम्बन्धी आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिको हैसियतले बोल्नुहुँदै अध्यक्ष प्रचण्डले कृषि क्षेत्रमा पर्याप्त सम्भावना हुँदाहुँदै पनि खाद्यान्न आयातमा ठूलो रकम खर्च भइरहेको बताउनुभएको हो ।

नेपालको संविधानले खाद्यान्न अधिकारको ग्यारेण्टी गरेको भएपनि कृषि र मत्स्यपालनका क्षेत्रमा अझै धेरै गर्नुपर्ने वहाँका भनाई थियो । “एकातिर ठूलो संख्यामा युवाहरु प्रवासिन बाध्य छन् ।” अध्यक्षले भन्नुभयो, “अर्कोतिर खाद्यान्न आयातमा हामीले धेरै पैसा विदेश पठाइरहेका छौं । यो स्थितिलाई परिवर्तन गर्नु जरुरी छ ।”

नेपालमा मत्स्यपालनका क्षेत्रमा कतिपय चुनौती रहेको बताउनुहुँदै अध्यक्षले राज्यका तर्फबाट मत्स्यपालनमा सक्रिय किसान तथा व्यापारीहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

बजारमा स्वस्थकर माछा पुर्याउने र बजारको खोजीको चुनौती रहेको बताउनुहुँदै अध्यक्षले यस क्षेत्रमा लागेका किसानहरुले माछापालन गर्दा एकैपटक ठूलो संख्यामा माछा मर्ने, बीऊ नपाइने, बजार नपाइने र झिनो प्राविधिक सहयोग पाइने अवस्थाका कारण ठूलो नोक्सानी बेहोरिरहेको अध्यक्षले बताउनुभयो ।

नयाँ संविधानको निर्माण र निर्वाचनसँगै नेपाली जनताले विकास, सुशासन र समृद्धिको अपेक्षा राखेको बताउनुहुँदै अध्यक्षले आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिनुभयो । मत्स्यपालनदेखि अन्य कृषि क्षेत्रमा राज्यले पर्याप्त चासो र ध्यान दिन सके यसबाट समृद्ध नेपालको निर्माणमा ठूलो योगदान दिने वहाँले बताउनु भयो ।

अध्यक्ष प्रचण्डले तराईदेखि हिमालसम्म मत्स्यपालनले विकास गरेको भएपनि चुनौतीहरु रहेकोले राज्य र व्यवसायीहरुले झन ठूलो प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल मत्स्यपालन समाजले आयोजना गरेको कार्यक्रममा बिभिन्न व्यक्तित्वहरु समेत अध्यक्ष प्रचण्डबाट सम्मानित हुनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्