Logo

संविधान संशोधन र मुद्दा फिर्ता नभएसम्म राजपा सरकारमा जानु हुँदैन : कर्ण



फागुन २७, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा औपचारिक निर्णय नभएको बताएका छन् ।

नेपाली रेडियो नेटर्वकको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले प्रधानमन्त्री ओली र राजपाका शीर्ष नेताहरुबिच संविधान संशोधन र विश्वासको मत दिने विषयमा छलफल भने भएको बताए ।

विश्वासको मत दिने बारे औपचारिक रुपमा आफूलाई जानकारी नभएको भन्दै नेता कर्णले शीर्ष नेताहरुबिचच छलफल मात्रै भएको हुनसक्ने बताए ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने वा नदिने बारे पार्टीभित्र छलफलसमेत नभएको उनले बताए ।

देश विकासका लागि प्रतिपक्षमा बसेर पनि भूमिका खेल्न सकिने भन्दै कर्णले सरकारमा जानैपर्ने कुनै कारण नभएको बताएका छन् ।

देश विकासका लागि सरकारलाई दुई तिहाई वा बहुमत जे भए पनि केही फरक नपर्ने उनले बताए ।

आन्दोलनका शहीद, घाइते र जेलमा रहेका साथीहरुका कारण चुनाव जितेको स्मरण गराउँदै कर्णले मन्त्री बन्न अहिले नै खुट्टा उचाल्न उचित नहुने तर्क गरेका छन् ।

संविधान संशोधन नभएसम्म सरकारमा सहभागि हुन नहुने कुरामा आफ प्रतिबद्ध रहेको भन्दै उनले राजपाका अन्य सासंदहरुलाई पनि एजेण्डा नभुल्न आग्रह गरेका छन् ।

“संविधान संशोधन लगायतका माग पूरा नभएसम्म सरकारमा जानु हुँदैन । सरकारले चाह्यो भने सरकारले रेशम चौधरीलाई आरोपमुक्त गर्न सक्छ ।” कर्णले भने ।



प्रतिक्रिया दिनुहोस्