Logo

सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाउनेमा ढुक्क छौँ :यादव



फागुन २८, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले आफूहरुले केपी ओलीलाई विश्वासको मत दिनुको कारण मधेशी जनताको अधिकार स्थापित गराउनका लागि भएको दाबी गरेका छन् ।

सरकारलाई दुई तिहाई मत हुँदा आफूहरुले भनेअनुसार संविधान संशोधन गर्न सहज हुने भएकाले विश्वासको मत दिएको दाबी गरे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता यादवले मधेशमा भएको विभेदको अन्त्यका लागि सरकारलाई सहयोग गरेको उनको भनाई छ ।

“सरकारमा जाने कुरा हाम्रो लागि प्रमुख विषय होइन । पहिला संविधान संशोधनको माग पूरा हुनुपर्छ । त्यसपछि बल्ल सरकारमा जाने वा नजाने विषयमा विचार गर्छौँ ।” यादवले भने ।

संविधान संशोधन गरेर सरकारमा सहभागि हुने विषयमा राजपा र सरकारबिच छलफल भइरहेको बताउँदै उनले संविधान संशोधन नभएसम्म सरकारमा नजाने स्पष्ट पारे ।

सासंद भइसकेका रेशम चौधरीलाई सरकारले हतकडी लगाएको भन्दै यादवले आपत्ति जनाए । चौधरीलाई छोड्ने वातावरण सरकारले बनाउनुपर्ने उनको भनाई छ ।

“हामी कानुनीराज मान्छौँ । तर उपचार गर्नेबेलामा पनि हतकडी लगाएको छ ।” उनले आक्रोष पोखे ।

नेकपा एमालेको क्रियाकलापले मधेशी जनताको भावनामा ठोस पुगेको भन्दै उनले अब देश विकासका लागि सबै दलहरुले राजनीतिक मुद्दालाई समाधान गर्नुपर्नेमा जोड दिए ।

देशको आवश्यकताअनुसार एमालेले संविधान संशोधन गर्ने बताएकाले आफूहरुको माग पूरा हुनेमा विश्वास रहेको उनको भनाई छ ।

केही दिनभित्रमा नै सरकारले संविधान संधोधन प्रक्रिया अगाडि बढाउनेमा आफूहरु ढुक्क रहेको यादवले बताए ।



प्रतिक्रिया दिनुहोस्