काठमाडौँ, २८ फागुन / मन्त्रिपरिषद्को बैठकले आज भएको युएस बङ्गला विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छ सदस्यीय जाचँबुझ आयोग गठन गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साँझ बसेको बैठकले सो निर्णय गरेको हो । आयोगका सदस्यमा प्रमुख सेनानी डा राजीव देव तथा क्याप्टेनत्रय केके शर्मा, सुनील प्रधान र उद्धवप्रसाद सुवेदी र सदस्यसचिवमा सहसचिव बुद्धिसागर लामिछाने छन् ।
जनसङ्ख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले आयोगले यथाशीघ्र प्रतिवेदन बुझाउनुपर्ने निर्णय गरेको बपनि पत्रकार ऋषि धमलालाई जानकारी दिए ।
बैठकले सो दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारणा गर्न आग्रह गर्दै उद्धारमा खटिएका नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी, चिकित्सक र अन्य सबैप्रति आभार प्रकट गरेको छ ।
बैठकले प्रदेशको मुख्य न्यायाधिवक्ताको शपथ महान्यायाधिवक्ताको प्रक्रियाजस्तै गरी प्रदेशको उच्च अदालतको मुख्य न्यायाधीशको उपस्थितिमा गराउने निर्णय गरेको छ ।