काठमाडौँ, २ चैत : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी लालबाबु पण्डितले पाउनुभएको छ ।
यसअघि जनसंख्या तथा वातावरणमन्त्री रहनुभएका पण्डितले आज भएको मन्त्रिमण्डल विस्तारबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।
स्थानीय विकास मन्त्रालय र सामान्य प्रशासन मिलेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनेको हो । जिम्मेवारी पाएसँगै उहाँले आज मन्त्रालयमा आई कार्यभार समाल्नुभएको छ । कार्यभार समाल्दै उहाँले कर्मचारीलाई मुलुकको सुशासनमा दृढ भएर लाग्न आग्रह गर्नुभयो ।
उहाँले संघीय व्यवस्थाको जग बसाउने जिम्मेवारी यस मन्त्रालयको रहेको भन्दै सबैले इमान्दारितापूर्वक काम गरी कर्मचारीतन्त्रको व्यावसायिक मूल्यमान्यता अनुरुप काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले स्थानीय सरकार जनताको घरदैलोमा पुग्ने गरी मन्त्रालयले समन्वयकारी ढंगले काम गर्नसमेत निर्देशन दिनुभयो । उहाँले स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि–२०७२ को नमूना स्वीकृत गर्नुभयो ।
उहाँलाई मन्त्रालयका सचिव दिनेशकुमार थपलिया र शंकर कोइरालालगायतले स्वागत गर्नुभएको थियो ।(रासस)