सिरहा, ६ चैत्र । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दल र त्यसका नेतृत्वले एकै ठाउँमा उभिनुपर्ने बताएका छन् ।
पूर्वपश्चिम हुलाकी राजमार्गको स्तरोन्नती कार्यको आज मंगलबार सिरहाको बरियारपट्टिमा शिलान्यास गर्दै उनले भने,“राजनीतिक दलको खिचातानीका कारण विकासको बजेट फिर्ता जाने र विकास निर्माण ठप्प हुने प्रवृति देखिएको छ, त्यसलाई सबै दलका नेताले त्याग्नु जरुरी छ ।
सरकारले पाँच वर्ष्भित्र देश र मधेशको स्वरुप परिवर्तन हुने गरी काम अघि बढाउन लागेकोले यसमा सबै दलको सकारात्मक सहयोग आवश्यक भएको पनि उनले बताए ।
मन्त्री महासेठले समयमा काम पुरा नगर्ने ठेक्केदारलाई सरकारले कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै विकास निर्माणमा हुने ढिलासुस्ती र कमिसनखोरी रोक्न दण्ड र पुरस्कारको व्यस्था गर्न लागेकोसमेत बताए ।
त्यस्तै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले सुशासन र विकासको मुख्यबाधक भ्रष्टाचार भएकाले यसको नियन्त्रणका लागि प्रदेश सरकार कडारुपमा प्रस्तुत हुने दृढता व्यक्त गरेका छन् ।
“भ्रष्टाचार नियन्त्रणमा प्रदेश सरकार कुनै कसर बाँकी राख्दैन”, उनले भने–“जनताबाट आएको एक÷एक पैसाको हिसाब हामी जनतालाई दिन्छौं, भ्रष्टाचार हुन्न दिन्न ।”
नेकपा माओवादी केन्द्रका नेता विश्वनाथ साह, प्रभु साह, नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद लिलानाथ श्रेष्ठलगायतले हुलाकी सडक निर्माण समयमै सम्पन्न भए मधेशमा आर्थिक समृृद्धिको बाटो खुल्ने बताए ।