चैत १४, काठमाण्डौ । प्रदेश नम्बर दुईको सरकारले सय दिनको कार्य योजना सार्वजनिक गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई बन्द हडताल, चक्काजाम मुक्त बनाउने सहितको सय दिनको कार्य योजना सार्वजनिक गरेका हुन् ।
प्रदेशको विकासका लागि लगानीकर्तालाई प्रोत्साहित गर्न लगानीमैत्री कानुन ल्याउने योजनामा उल्लेख छ ।
योजनामा महिलाहरुलाई प्राथमिकतामा राख्दै बेटी पढाउ बेटी बचाउ अभियान सुरु गरिने उल्लेख गरिएको छ ।
सय दिने कार्ययोजनाका विषयमा कुरा गर्दै उक्त प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बेटा मात्रै पढाउने प्रवृत्ति भएकाले यसको अन्त्यका लागि नीतिगत सुधार गर्न खोजिएको बताए ।
“एउटै आमाबाबुबाट जन्मिएका छोरा र छोरीलाई समाज व्यवहार गर्नुपर्छ । दुवैलाई पढाउनुपर्छ । यसका लागि सरकारले नीतिगत सुधार गर्न खोजेको हो ।” राउतले भने ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै अहिले पनि महिलाको नामबाट नागरिकता लिन सक्ने अवस्था नरहेको भन्दै उनले प्रदेश सरकारले यस्ता समस्या समाधान गर्न प्रयास गरेको बताए ।
तराई मधेश क्षेत्रमा व्याप्त रहेको दाईजो प्रथा उन्मुलन गर्न नसकिने अवस्था रहेको बताउँदै उनले न्युनिकरणका लागि भने पहल गर्ने बताए ।
“दाइजो प्रथा उन्मुलन त के गर्नु र, यो त मुलुकी ऐनदेखि आएको कुरालाई उन्मुलन गर्न सकिदैन । तर हामी नियन्त्रण गर्ने प्रयास गर्छौँ ।” राउतले भने ।
पैसा नभएको बाबुले छोरीको विवाह गर्न पाउने कि नपाउने भन्ने धमलाको प्रश्नमा राउतले भने, “मेरो प्रयास हुनेछ । जतिसम्म गर्न सक्छु, त्यतिसम्म गर्छु ।”
राउतले आफू मूख्यमन्त्री भएको ४० दिन वितेको बताउँदै यस अवधिमा गर्न सक्नेजति सबै काम गरेको दाबी गरे ।
कतिपय कामका लागि नीति र कानुनको अभाव भएको बताउँदै उनले गर्न मिल्ने जति काम गरेको दाबी गरे ।
मुख्यमन्त्री राउतले प्रदेशका आठ वटै जिल्लामा विशेष आर्थिक क्षेत्र घोषणा गरेर विद्युत, सडक, सुरक्षा, पानीलगायतको आपूर्ति सहज बनाउने घोषणा गरेका छन् ।
त्यसैगरी कृषिको विकासका लागि साना सिंचाई योजना र सहुलियत दरमा कृषकलाई कृषि उपकरण उपलब्ध गराउने बताए ।
उनले प्रदेश २ लाई नमुना प्रदेशको रुपमा विकास गर्न प्रत्येक जिल्लामा एक–एक वटा स्मार्ट सिटी तथा विशेष आर्थिक क्षेत्र बनाउने प्रतिबद्धता जनाएका छन् ।