चैत १५, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले पार्टी एकताका लागि कार्यदलले तयार पारेको प्रतिवेदनको दुवै पार्टीभित्र आन्तरिक छलफलपछि सहमति गरिने बताएका छन् । औपचारिक रुपमा पार्टी एकता संयोजन समितिले घोषणा गर्ने भए पनि कार्यदलको प्रतिवेदन पार्टीभित्र पनि अध्ययन गरिने शर्माले बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै राष्ट्रियसभा सदस्यसमेत रहेका शर्माले २० गतेभित्र कार्यदलले प्रतिवेदनलाई अन्तिम रुप दिने गृहकार्य गरिरहेको बताए ।
शर्माले प्रधानमन्त्री केपी ओलीको यही २३ गते हुने भनिएको भारत भ्रमणअघि नै पार्टी एकता हुन सक्ने बताएका छन् ।
कुनै पार्टी कसैसँग गएर विलय हुन लागेको होइन भन्दै शर्माले सम्मानजनक रुपमा पार्टी एकता हुने जिकिर गरे ।
अध्यक्ष प्रचण्डले ५०–५० प्रतिशतका आधारमा एकता हुनुपर्छ भन्नुको अर्थ पनि सम्मानजनक हुनुपर्छ भन्न खोजिएको शर्माको दाबी छ ।
संगठनको आकारका आधारमा कुनै पनि दल सानो–ठूलो नहुने भन्दै शर्माले पार्टीको विचार, दृष्टिकोण, राष्ट्रको चाहना र जनमतका आधारमा एकता गरिने बताए ।
बाम गठबन्धन हुँदा गरिएको सात बुँदै सहमतिको धरातलमा टेकेर पार्टी एकता हुने उनको भनाई छ । “अंशबण्डाको मानसिकताले पार्टी एकता गरियो भने दिगो हुँदैन । भविष्यमा पनि पार्टीभित्र गुटहरु सृजना हुने अवस्था आउन नदिनका लागि अहिले नै सचेत हुनुपर्छ ।” शर्माले भने ।