चैत १८, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी तिब्र पारेका छन् ।
आगामी चैत २३ देखि २५ गतेसम्म हुने भ्रमणका लागि प्रधानमन्त्री ओलीले आन्तरिक छलफल तिब्र पारेका हुन् ।
विभिन्न क्षेत्रसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिहरुलाई आफ्नो सरकारी निवास वालुवाटारमा ओलीले छलफल गरिरहेका छन् ।
यसैबिच प्रधानमन्त्रीको भारत भ्रमणका उठाउनुपर्ने एजेण्डाको विषयलाई लिएर नेपाल भारत प्रवुद्ध समुहले पनि आन्तरिक छलफल गरिरहेको छ ।
प्रवुद्ध समुहको संयोजक डा.द भेषबहादुर थापाले भारत सरकारसँग केके विषयमा छलफल गर्ने भन्ने विषयमा समुहले आफ्नो तर्फबाट केपी ओलीलाई सुझाब दिने छ ।
पूर्व परराष्ट्रमन्त्री थापाको संयोजकत्वमा नेपालतर्फको प्रबुद्ध व्यक्ति समूहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, सांसद राजन भट्टराई र पूर्वकानूनमन्त्री नीलाम्बर आचार्य छन् ।
नयाँ प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अपवादबाहेक भारतबाटै हुन्छ । र, उता जानुअघि यता चासो बढ्छ– पुराना सन्धि–सम्झौतामाथि कुरा उठ्छ कि उठ्दैन । विज्ञहरू ठान्छन्, यसपालि सन्धि–सम्झौता पुनरावलोकनको विषय सम्भवतस् उठदैन । किनकि, यसलाई ‘प्रबुद्ध समूह’ (ईपीजी) ले टुंग्याउँदै गएको छ । बरु यो भ्रमणका एजेन्डा आर्थिक–सामाजिक विषयवस्तुमा बढ्ता केन्द्रित हुन सक्छन् ।
तय भएको निकैपछि प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणको औपचारिक घोषणा गरेका छन् । एजेन्डा भने अझै बनाइसकेका छैनन् ।
सबै पक्षसँगको छलफल र सुझाब ग्रहणपछि एजेण्डा तय गर्ने तयारीमा प्रधानमन्त्री ओली जुटेका छन् ।