Logo

गाउँतहदेखि केन्द्रसम्म नै समानताका आधारमा पार्टी एकता गर्ने विषयमा विवाद छैन : सापकोटा



चैत २०, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटाले एमालेसँगको एकता प्रक्रिया अगाडि बढिरहेको जानकारी दिएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता सापकोटाले सम्मानजनक एकताको कुरा गर्दैमा एकता प्रक्रिया भाँडिएको भनेर बुझ्न नहुने बताए ।

“रासायनिक पदार्थ मिलेर नयाँ वस्तु बने झैँ नयाँ कम्युनिष्ट पार्टी बन्ने हो । यसका लागि प्रतिशतका आधारमा भागबण्डा नभै समानताका आधारमा एकता हुनुपर्छ भनिएको हो ।” सापकोटाले भने ।

समानताका आधारमा एकता गर्ने कुरामा एमालेले पनि कुनै आपत्ति नजनाएको सापकोटाले बताए ।

गाउँतहदेखि केन्द्रसम्म नै समानताका आधारमा पार्टी एकता गरिने उनको दाबी छ ।
“छलफल चल्दैछ । समानताका आधारमा एकता हुँदैन भन्ने कुरामा अहिले जानु हुँदैन । प्रधानमन्त्रीको भारत भ्रमण अगाडि एकता सम्भव नभएपछि छिटै एकता हुन्छ । पार्टी एकता संयोजन समितिले छिटै कुरा टुङ्रग्याउँछ ।” सापकोटाले भने ।

पार्टी एकता हुँदा प्रतिशतको कुरा लागु नहुने उनको भनाई छ ।

एकताका सन्दर्भमा जनयुद्ध शब्दलाई एमाले अध्यक्ष केपी ओलीले स्विकार गरिसकेको सापकोटाले बताए । त्यसैगरी चुनाव चिन्ह सुर्यभित्र हसिया हथौडा राख्ने विषयमा पनि विवाद नभएको उनको जिकिर छ ।

“सूर्य चिन्हभित्र हसिया हथौडा राख्दा धरै राम्रो हुन्छ । यसले भावनात्मक एकतामा बल पुर्याउँछ । यसमा एमालेले विवाद गर्दैन ।” उनले भने ।



प्रतिक्रिया दिनुहोस्