Logo

प्रधानमन्त्री ओलीले अब दुई देशबीच सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ : क्षेत्री



काठमाडौं, २० चैत्र । नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य वामदेव क्षेत्रीले प्रधानमन्त्रीको भारत भ्रमणमा अहिलेसम्म भएका सम्झौताहरु कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री ओलीको भारत भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने, ‘प्रधानमन्त्री ओलीले अब दुई देशबीच सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ, भारत र चीनबीच नेपालले पुलको नीति अपनाउनुपर्छ।’

भारतसँग भएका हुलाकी राजमार्ग, प्रशारण लाईन, जलविद्युत लगायतका धेरै महत्वपूर्ण परियोजनाहरु अब कार्यान्यनतर्फ जोड दिनुपर्ने उनको भनाई थियो । उनले प्रधानमन्त्रीको भारत भ्रमण परम्परागत भ्रमणमात्रै नहोस् भन्ने पनि शुभकामना दिए ।

नेपालले भारतीय प्रविधि, लगानी र पर्यटकहरु भित्र्याउनेतर्फ पनि जोड दिनुपर्ने उनको सुझाव थियो । उनले थपे,‘बदलिएको परिस्थिति र बदलिएको समाज अनुसार नयाँ खाले विदेश नीति अपाउनुपर्छ।’ नेता क्षेत्रीले नेपालका कम्युनिष्ट नेताहरुले राष्ट्रवादको नाममा गाली गर्ने गरेको भएपनि अब त्यस्तो गलत कुरा छोड्नुपर्ने सुझाव समेत दिए ।

प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणमा नयाँ थालनी गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई थियो । नेपालमा रेल भारत वा चीन कसले पहिले ल्याउने भन्ने प्रतिष्पर्धा भएकोले नेपालले पनि सोही अनुसार तयारी थाल्नुपर्ने उनले सुझाव दिए ।

भारतसँग रहेको ६१ प्रतिशतको व्यापार घाटा कम गर्नको लागि नेपालले कृषिमा आधुनिकिकरणमा जोड दिनुपर्ने क्षेत्रीले बताए ।

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आर्थिक एजेण्डामा भारतलाई कन्भिन्स गरेर नेपाल अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने,‘मोदीको मन जितेर हाम्रो प्रधानमन्त्री ओलीले लगानी भित्र्याउनुपर्छ, त्यो भयो भने सार्थक र परिणाममुखी हुन्छ।’

नेपाल–भारतबीच बहुआयामिक सम्बन्ध रहेकोले आगामी दिनमा द्धिपक्षीय सम्बन्ध आर्थिक समृद्धिको एजेण्डामा केन्द्रित रहनुपर्नेमा धमलाको सुझाव छ।



प्रतिक्रिया दिनुहोस्