नयाँ दिल्ली, २३ चैत्र । तीन दिने राजकीय भ्रमणको लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आज विहान पौने ११ बजे नयाँ दिल्ली ओर्लिएका छन् ।
ओलीसँग अत्यन्तै व्यस्त भ्रमण कार्यतालिका रहेको छ । ५४ सदस्यीय जम्बो टोली लिएर नयाँ दिल्ली उत्रिएका ओलीले उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग के कस्तो कुराकानी गर्लान् ? भन्नेबारे अहिले बहस एवम् छलफल भैरहेको छ ।
ओली र मोदीबीच भोलि शनिबार साँझमात्रै भेटवार्ता हुनेगरि कार्यक्रम तय भएको छ । तीन दिने दिल्ली बसाईका क्रममा ओलीले नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउन र सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनेगरि भारतीय प्रधानमन्त्री मोदी र भारतका अन्य राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने विश्वास लिईएको छ ।
भोलि साँझ हुने दुवै देशका प्रधानमन्त्रीका बीचमा हुने कुराकानी मुख्यतयः आर्थिक एजेण्डामा केन्द्रित रहेर कुराकानी हुने बुझिएको छ । मोदीले नेपालको विकासको लागि विशेष सहयोग नै घोषणा गर्न सक्ने पनि अनुमान गरिएको छ।
ओलीलाई विमानस्थलमा स्वागत भने गृहमन्त्री राजनाथ सिंहले गरेका थिए । जुन अपेक्षा गरिएको भन्दा फरक हो । भारतले यसअघि अर्थराज्यमन्त्री एक्लैलाई स्वागतको लागि पठाउनेगरि तयारी थालेको थियो । पछि, प्रधानमन्त्री मोदी क्याबिनेटमा मोदीपछिका दोस्रो वरियतामा रहेका गृहमन्त्री सिंहलाई पठाएर भारत सरकाले ओलीप्रति सम्मान प्रकट गरेको छ ।
ओलीले भोलि साँझ समकक्षी मोदीसँग एक्लाएक्लै र सामूहिक (डेलिगेशन) भेटवार्ता गर्दैछन् । ओलीको सम्मानको लागि भोलि नै राष्ट्रपति भवनमा विशेष रिसेप्सशन पार्टी दिईने कार्यक्रम रहेको छ । भ्रमणको तेस्रो दिन ओलीले उत्तराखण्डको पन्तनगरमा रहेको जिबी पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यहाँ उनले ब्रिडर सिड प्रोडक्सन सेन्टर र एन ईन्टिग्रेटेड फार्मिंग प्रोजेक्टको पनि अवलोकन गर्नेछन् । विश्वविद्यालयबाट ओलीलाई मानार्थ डिग्री अफ डक्टर अफ साईन्सले विभुषित गरिनेछ ।