Logo

भारत भ्रमणको पहिलो दिनमै ओलीले भने : म उत्साहित छु



नयाँ दिल्ली, २३ चैत्र । आजबाट तीन दिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू यो भ्रमणबाट निकै उत्साही रहेको सुनाएका छन् । शुक्रबार नयाँ दिल्लीस्थित् होटेल ताज प्यालेसमा भारतीय विदेश मन्त्रालय, फिक्की सिआईआई र अशोचमले संयुक्तरुपमा आयोजना गरेको “इन्डिया–नेपाल बिजनेस फोरम” लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त दाबी गरेका हुन् ।

ईण्डो-नेपाल बिजनेस फोरमलाई सम्बोधन गरेर बाहिरिने क्रममा पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानीमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,“यो भ्रमण निकै फलदायी हुन्छ, म खुशी छु । उत्साही छु।”

उनले नेपालले विकास र समृद्धिको यात्रामा अघि बढ्दा मित्रराष्ट्र भारतको सहयोग र समर्थन अनिवार्य रहेको समेत बताए । त्यस्तै नेपालमा चीनीयाँ प्रभाव बढेको हो भनेर एक पत्रकारले सोधेको प्रश्नमा भने ओलीले आफू अहिले भारत भ्रमणमा रहेकोले त्यतातर्फ बोल्नुको अर्थ नहुने धारणा राखेका थिए । “अहिले म भारत भ्रमणमा छु, हामी सबै मित्रराष्ट्रसँग घनिष्ठ र सन्तुलित सम्बन्ध राख्न चाहन्छौं, नेपाललाई अब आर्थिक पक्षबाट सहयोगको खाँचो छ।”

यसअघि प्रधानमन्त्री ओलीले नेपालमा स्थायी सरकार गठन भएसँगै अनकूल वातावरण निर्माण हुन थालेको भन्दै भारतीय उद्योगी व्यवसायीलाई ढुक्क भएर सबै क्षेत्रमा लगानी गर्न आह्वान गरेका थिए ।

समृद्धि नेपाल र खुसी नेपालीको मुख्य अभियानमा नेपाल सरकार जुटिसकेको भन्दै प्रधानमन्त्री ओलीले भारतीय लगानी भित्र्याउन आफू उत्साहका साथ तयार भइसकेको विश्वास दिलाए ।

नेपालमा लगानी गर्नु पर्ने आधारहरु प्रस्ट्याउँदै प्रधानमन्त्री ओलीले मित्रता र असल छिमेकी भएको पृष्ठभूमिमा त्यहाँका सबै क्षेत्रमा लगानी गर्ने अवसर भारतीय उद्योगी र व्यवसायीलाई प्राप्त भएको समेत दाबी गरेका छन्।

भारतीय व्यवसायीहरुले पनि आफूहरु नेपालमा सबै क्षेत्रमा लगानी गर्न तयार रहेको बताउँदै उपर्युक्त वातावरण बनाउन ओलीसँग आग्रह गरेका थिए ।

नेपालको केन्द्रदेखि सातै प्रदेशमा स्थायी र बलियो सरकार बनेको र त्योसँगै लगानी योग्य नीति निर्माण भइसकेकाले भारतीय उद्योगी र व्यवसायी निर्धक्कसाथ घर नै सम्झिएर लगानीका लागि नेपाल आउन प्रधानमन्त्री ओलीले उनीहरुलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक परिवर्तन मात्रै होइन युग नै परिवर्तन भइसकेको भन्दै सबै क्षेत्र सुरक्षित भएको बताए। ‘तपाईँहरु विश्वभरि लगानी गरिरहनु भएको छ। छिमेकी मुलुकमा लगानी गर्न किन डराउनुहुन्छ? ढुक्क भएर लगानी गर्नु होस्। आफ्नै घर सम्झिएर, सुरक्षाको जिम्मा हामी लिन्छौं,’ ओलीले भारतीय उद्योगी र व्यवसायीलाई आग्रह गरे।

त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले प्रधानमन्त्री ओलीको यो भ्रमणले आईसब्रेक नै गर्ने विश्वास दिलाईन् ।

भ्रमण नेपालमा लगानी भित्र्याउन फलदायी बन्ने उनको विश्वास छ । पत्रकार धमलासँगको कुराकानीमा राणाले भनिन्,“प्रधानमन्त्रीको भारत भ्रमण अत्यन्तै सफल र फलदायी हुन्छ, नेपालमा भारतीय लगानी भित्र्याउनको लागि यो भ्रमण आईसब्रेक नै हुन्छ।” उक्त अन्तरक्रिया कार्यक्रममा नेपालका तर्फबाट ३० जना र भारतका तर्फबाट ७० जना उद्योगी एवं व्यवसायी सामेल थिए।



प्रतिक्रिया दिनुहोस्