नयाँदिल्ली, २४ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दिल्लीको राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थलमा पुगेर गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गरेका छन् ।
नेपाली भ्रमण दलका सदस्यहरुसँगै शनिबार बिहान समाधिस्थलमा पुगेका ओलीले त्यहाँ राखिएको उपस्थिति पुस्तिकाका गान्धीलाई ‘बापु जी’ को नामले सम्वोधन गर्दै केही नोटसमेत लेखे । ओलीले समाधिस्थलमा रहेको पुस्तिकामा हस्ताक्षर र गान्धीप्रति श्रद्धाञ्जलिसहित उनको स्मरण समेत गरेका थिए ।
श्रद्धाञ्जलि पुस्तिकामा प्रधानमन्त्री ओलीले लेखेका छन्,” महात्मा गान्धी भारतका मात्र नभइ संसारकै अमर व्यक्तित्व हुनुहुन्छ, उहाँले हामीलाई प्रेम, सत्य र अहिंसा सिकाउनुभएको छ, यो मानव जातीको उच्च गुण हो ।”
यस अवसरमा समाधिस्थलमा रहेका भारतीय अधिकारीहरुले ओलीलाई माहात्मा गान्धीको मूर्तिका साथै केही पुस्तकहरुसमेत उपहार दिए ।
प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीसहित आजै दुबै देशका सरकारी प्रतिनिधिमण्डलस्तरीय औपचारिक द्विपक्षीय भेटवार्ता हुँदैछ ।