नयाँ दिल्ली, २४ चैत । नेपाल भारत सीमामा बनाइएको वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) को आज शनिबार उद्घाटन भएको छ ।
तीन दिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाटै यसको उद्घाटन गरेका हुन् ।
भारत सरकारले एक अर्ब ३९ करोड रुपैयाँ लगानीमा यो आईसीपी निर्माण गरेको हो । यो जाँच चौकी वीरगञ्जस्थित सिर्सिया खाल्वाटोला र अलौगाउँको बीचमा बनेको छ ।