ऋषि धमला : प्रधानमन्त्री केपी शर्मा ओलीको प्रष्ट बोलीले ‘ओलीको बोली’ ब्राण्ड नै बनिसक्यो । ओलीको बोलीमा यति दम छ कि देशभित्र मात्र नभएर बाहिर समेत प्रभाव देखाउन सके । हालैको भारत भ्रमणमा ओलीको बोलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत प्रभावित पा¥यो । मोदीले ओलीको बोलीको प्रशंशा मात्र गरेनन् प्रष्ट कुरा राख्ने स्वभावका कारण आगामी दिनमा हातमा हात मिलाएर अगाडि बढ्ने सन्देश दिए ।
ओलीले मोदीको मन जितेका छन् । यसले नेपालको आर्थिक विकासमा दुवै देशलाई मिलेर अगाडि बढ्ने मार्ग तयार भएको छ । अब समृद्ध नेपालको पाइलामा ओलीले मोदीबाट आवश्यक सहयोग पाउने निश्चित भएको छ । मोदीले अबका दिनमा काम गरेर देखाउने गरी भूमिकाहरु रहने उद्घोष गरिसकेका छन् । जुन ओलीसँग मोदीको भ्रमण तालिकामा उल्लेख नभएको वन टु वान वार्ता र त्यसपछिको भ्रमणतालिका अनुसारको वार्तापछि आएको हो । अब ओली—मोदी कनेक्सनले नेपालको समृद्धितर्फको यात्रालाई गति दिन सक्ने वातावरण तयार भएको छ ।
‛समृद्ध नेपाल, खुशी नेपाली’ को सपनालाई साकार बनाउन पाइला सारिसकेका ओलीले कुटनीतिक सम्बन्धबाट आफ्नो लक्ष्य प्राप्त गर्ने नीति बनाएका छन् । भारत भ्रमणका बखत ओलीले समृद्ध नेपालको लक्ष्य पूरा गर्ने उद्देश्यलाई केन्द्रमा राखेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रष्ट कुरा राख्दै थाती रहेका विकासका काम पार लाग्नुपर्ने विषय उठाए । भारतसँग सहमति र सम्झौता धेरै भएको तर काम प्रभावशाली नभएकोमा अब त्यसो हुन नहुनेबारे मोदीसँग कुरा राखेका थिए । राजनेताले देखाउने व्यवहार ओलीले देखाए ।
निडरताका साथ बोलेर दुई देशबीच रहेको वास्तविक समस्या समाधानमा जोड दिए । मोदी आफै प्रष्ट वक्ता हुन् । हिम्मतिला नेता भएकाले आफ्ना समकक्षी त्यस्तै पाए । दुई नेताबीच मन माझेर कुरा हुन पायो । नेपालको इतिहासमा कुनैपनि प्रधानमन्त्रीले भारतीय समकक्षीसँग यति प्रष्टसँग कुरा कमैले राखेका थिए । त्यसैले होला ओलीलाई नेपालको इतिहासकै शक्तिशाली नेताका रुपमा चित्रण गरियो ।
भारतका नेता देखि विज्ञहरुसम्मले ओलीलाई नेपालको इतिहासकै शक्तिशाली नेता भने । नेपालका लागि भारतका पूर्व राजदूत रञ्जित रेले ओलीलाई ‛राजा महेन्द्रभन्दा पनि शक्तिशाली’ भने । संसदमा दुई तिहाईको समर्थन पाएका ओली शक्तिशाली मात्र होइनन् सामथ्र्यवान पनि छन् भन्ने भारत भ्रमणताका प्रमाणित गरे । देशकै शक्तिशाली नेताका रुपमा आफूलाई प्रस्तुत गरे । देश हितको विषयलाई सशक्त ढंगले विषय उठाए । भारतसँगको सम्बन्धको गहिराई र गम्भीरतालाई उत्तिकै मनन गरेर भ्रमणको पलहरुलाई देशहितमा सदुपयोग गरे । नेपाल–भारत सम्बन्धलाई सुमधुर र प्रगाढ बनाउनको लागि नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीको महत्वपूर्ण भूमिका रह्यो । उनको शालिन, बौद्धि र कुटनीतिक चातुर्यताको कारणले ओलीको भारत भ्रमणले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा कोशेढुँगा नै सावित भयो । दुवै देशका प्रधानमन्त्रीद्धय ओली र मोदीबीच केमेष्ट्री हुनुमा पनि पुरीको हात रहेको छ।
ओलीको उचाई
ओलीले देशको शिर उच्च राखेर फर्कने उद्घोष गरेका थिए । उनले त्यस्तै गरे । देशलाई अहित हुने कुनै कदम चालेनन् । जे–जे गरे देशको हितका लागि गरे । उनले भ्रमणको दौरान सहयोग आदानप्रदानको विषय उठाए । ओलीको यही कदमलाई मोदीले रुचाए । किनकी ओली–मोदी दुवै विकास र समृद्धिमा सहकार्य र सहयात्रा गर्ने निश्कर्षमा पुगेका छन् । मोदीका हरेक कदमहरु जोखिमयुक्त छन् तर देशको हितमा मात्र छन् । दुवै राष्ट्रवादी नेताबीच मन मिलेको छ। उनीहरुको काम गर्ने शैली मिलेको छ ।
सामान्य परिवारमा जन्मेर संघर्ष गर्दै राजनीतिक उचाई बनाएका नेताहरु हुन् । पारिवारिक पृष्ठभूमि, मन, वचन र कर्म मिल्दोजुल्दो भएकाले अब दुवै देशले सम्बन्धबाट लाभ लिनसक्ने अवस्था सृजना भएको छ । नेपाल र भारतबीचको सम्बन्धमा विगतमा धेरै गुनासाहरु आउँथे । अब गुनासो होइन समस्याको समाधान निकाल्न एक्सनमा जानुपर्नेमा दुवै नेता सहमत भएका छन् । अबको समय एक्सनमा जाने हो अलमलिने होइन । हक्की र हिम्मतिला नेताहरुको केमेष्ट्रि मिल्नु र कनेक्शन पनि दरिलो हुनुले अब दुई देशको सम्बन्धबाट परस्पर सहयोग र लाभ मिल्ने समय आएको छ । ओलीले देशहितलाई केन्द्रमा राखेर चालेको कदमले उनलाई नेपाली राजनीतिको ‘टावर पर्सनालिटी’ बनाएको छ ।
अब ‘कनेक्टिभिटी’
नेपाल र भारतबीच जन जनको सम्बन्ध छ । मनसँग मन जोडिएको छ नेपाल र भारतका जनताबीच । दुवै देशका जनताबीच भौगोलिक सीमा काटेर सहज आवत्जावत् हुन्छ । यसले एक आपसमा अन्र्तसम्बन्ध बढाउँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले अन्र्तसम्बन्धलाई अझ जोड दिएको छ । दुवै देशबीच कनेक्टिभिटी पूर्वाधारको विकास र सहयोग आदानप्रदानबाट कनेक्टिभिटी बढाउने योजनालाई अगाडि सारेको छ । नेपाल—भारतबीचको संयुक्त विज्ञप्तिमा कनेक्टिभिटीले विशेष महत्व पाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको रक्सौलस्थित रेल्वे स्टेशनबाट काठमाडौंसम्म रेल लाइन विस्तार गर्ने योजना ल्याएर कनेक्टिभीटिलाई प्राथमिकतामा राखे । गँगा नदी हुँदै नेपालका नदीहरुमा पानीजहाज र स्टिमर संचालन गरी ढुवानीको उचित व्यवस्था गर्ने विषय उल्लेख गरे । अब मन मनको सम्बन्धलाई अझ प्रगाढ बनाउन पूर्वाधारका क्षेत्रबाट कनेक्टिभिटी बढाउने लक्ष्य एकसाथ उद्घोष गरे । दुवैको उद्देश्य समान छन्, स्वभाव र शैली समेत समान छन् । ओली मोदी कनेक्सन र समान उद्देश्यले नेपालको समृद्धितर्फको यात्रामा सहयोगी भूमिका निभाउन सक्छ ।
मोदीले विकासका लागि तल्लो तहका जनतालाई जागृत गराउने र कृषिलाई आधुनिकिकरण गर्ने नारासहित अभियान चलाएका छन् । भारत मोदीमय बन्नुको कारण यही हो । विकासमा सबैको सहभागिता उनको मुख्य योजना रहेको छ । भारतमा विकासमा सबैको सहभागिता र प्रतिफलको न्यायोचित र समान वितरणको अवधारणा अगाडि बढाइएको छ । जसलाई छिमेकसँग समेत जोडेर भारत विकासलाई अझ गति दिने उद्देश्यमा छ । ‘सबका साथ सबका विकास’ को भीजनलाई भारतले छिमेकसँगको सहभागितामूलक विकास र समृद्धिको मार्गदर्शन बनाएको मोदीले स्पष्ट पारेका छन् ।
ओलीले नेपालमा ऐतिहासिक राजनीतिक रुपान्तरणपछि आर्थिक रुपान्तरणलाई केन्द्रमा राखेर ‛समृद्ध नेपाल सुखी नेपाली’ को अभियानलाई अगाडि बढाइसकेका छन् । जसरी मोदी विकास र समृद्धिमा केन्द्रित छन् ओली पनि त्यही दिशामा केन्द्रित भइसकेका छन् । दुवैबीच मन मिलेको छ । मन मिलेको विषय दुवै देशको संयुक्त विज्ञप्तिमा समेत समावेश छ । नेपाल र भारतबीच कृषिमा साझेदारी र सहयोग आदानप्रदान, रेल सञ्जाल काठमाडौंसम्म विस्तार र भारत र नेपालबीच जलमार्गबाट नयाँ कनेक्टिभिटीबारे सहमति बनेको छ । गंगा नदीका सहायक नदीहरुको जलप्रवाहलाई कनेक्टिभिटीको माध्यम बनाउने ऐतिहासिक कदममा ओली र मोदी सहमत भएका छन् । मोदीले गंगा सफा गर्ने प्रण गरेका थिए । ओलीले पनि त्यसलाई साकार पार्ने भूमिका देखाइसके । गंगाका सहायकनदीहरुमा स्टिमर र जहाज चलाउनु भनेको ती नदीहरुको सफाई र जलप्रवाह वृद्धिसँग पनि सम्बन्धित छ । दुवैको भिजन र मिसनमा समानता देखिएको छ । पवित्र मनले गंगा र उसका सहायकनदीहरु पवित्र बनाएर कनेक्टिभिटी बढाउने योजनामा हातेमालो हुनुले सकारात्मक सन्देश गएको छ ।
कनेक्टिभिटीबाट नेपाल र भारतबीचको ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक सम्बन्ध अझ प्रगाढ हुन्छ । अब सम्बन्धको आधार कनेक्टिभिटी बनाउने योजना बनाइएको छ । यसले दुवै देशको समृद्धिको यात्रालाई फराकिलो बनाउनेछ । सकारात्मक सोच र कार्यले दुवै देशको हितमा ओली र मोदीले संकल्प गरेका छन् । यही संकल्पबाट दुवै देशले फड्को मार्न सक्ने अवस्था बनेको छ । आपसी समस्यालाई कुटनीतिक माध्यमले समाधान गर्ने निक्र्यौल गरी अब दुई देशबीच कुनै किसिमका असझदारी नभएको सन्देश दिन सकेका छन् ।
विगतका सहमति कार्यान्वयन र सम्झौताको पुनरावलोकनबारे समेत गम्भीर छलफल गरेका छन् । समस्याबारे हल्लाखल्ला गरेर नभई सिधा कुरा गरेर हल निकाल्ने शैली ओली र मोदीले देखाएका छन् । समानता, आपसी विश्वास, सम्मान र लाभका आधारमा द्वीपक्षीय हितमा काम गर्ने बलियो सहमति विकास गरेका छन् । सबैभन्दा महत्वपूर्ण दुवै नेताले खुलेर आफ्ना कुरा राख्न थालेका छन् । खुल्ला हृदयले आ आफ्नो देशहितका लागि कुरा गर्दै गर्दा एक अर्काको समस्यालाई साझा मानेर समाधानमा लाग्ने संकल्प गरेका छन् । ओली र मोदीको केमेस्ट्रि मिल्नु र दुवैको संकल्पमा समानता हुनुले दुई देशको सम्बन्धमात्र प्रगाढ नभई दुवै देशको दिगो विकास र समृद्धितर्फको मार्ग फराकिलो भएको छ । ओलीले भारतसँगको सुमधुर सम्बन्धबाट मुलुकलाई समृद्ध बनाउने योजना बुनेर कार्यान्वयनमा लगेका छन् । ओली र मोदीबीच भएको सहमति कार्यान्वयन भयो भने दुई देशबीचको सम्बन्ध कसैले चाहेरपनि बिर्गान सक्दैन् । ओली र मोदी कनेक्सनबाट नेपालले ऐतिहासिक उपलब्धिको यात्रा तय गरेको यथार्थलाई इतिहासमा सुनौलो अक्षरले कोरिनेछ ।