वैशाख २१, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबिच विहिवार भएको वार्ता फलदायी भएको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रिमालले दुई अध्यक्षबिचको वार्ता सहमतिउन्मुख भएको बताए ।
तर दुवै अध्यक्षले कुरा नटुङ्गिएसम्म अहिलेसम्म भएका सहमति सार्वजनिक नगरेको रिमालले बताए ।
“एकता गर्ने कुरामा दुविधा भएन । गर्न पर्ने थुप्रै विषयलाई कसरी लैजाने भन्ने कुरा दुवैजनाले आफैँमा सिमित गर्नुभएको छ । कुरा टुङ्गिएपछि एकता संयोजनम समितिमा ल्याउनुहुन्छ ।” रिमालले भने ।
भोली एकताको मिति घोषणा गर्ने चर्चा भए पनि निश्चित नभएको उनको भनाई छ । मिति घोषणाभन्दा पनि एकता घोषणा नै प्राथमिकतामा रहेको बताउँदै उनले सबै कुरा टुङ्गिएको खण्डमा भोली मिति तय हुन सक्ने उनको अनुमान छ ।
एकतालाई कसैले रोक्न नसक्ने दाबी गर्दै उनले एकता भएरै छाड्ने दाबी गरे । “सम्मानजनक एकता हुन्छ । दुवै पार्टीका नेताहरुको उचित व्यवस्थापन हुन्छ ।” उनले भने ।
एकतापछि माओवादी अध्यक्ष प्रचण्डको हैसियत के हुन्छ भनेर प्रचण्ड स्वयम् शशंकित भएको भन्ने कुराको खण्डन गर्दै रिमालले भने, “त्यो त मिडियामा आएको कुरा हो । प्रचण्ड यसमा शशंकित हुनुहुन्छ भन्ने मलाई लाग्दैन । शशंकित हुनुपर्ने कुरा छैन ।”
दुवै दलका नेताहरु आफ्नो हैसियतको चिन्तामा नरहेको तर पार्टी एकतालाई कसरी सफल बनाउने भन्ने चिन्तामा रहेको उनले बताए ।