Logo

मोदी भ्रमणका लागि जनकपुरदेखि मुक्तिनाथ हुँदै काठमाण्डौसम्म सुरक्षा व्यवस्था कडा



वैशाख २८, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने राजकीय भ्रमणका लागि शुक्रबार नेपाल आउँदै छन् । भारतीय वायुसेनाको हेलिकोप्टरबाट अहिले बिहान करिब सवा १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने तालिका छ ।

 

मोदी जानकी मन्दिरमा पूजा र नागरिक अभिनन्दनपछि अाजै दिउँसो १ बजे काठमाडौं आउने तय भएकाे छ ।

मोदीलाई बस्ने व्यवस्था चुच्चेपाटीस्थित होटल हायातमा गरिएको छ । त्यसैले उनी एयरपोर्टबाट सीधै होटल हायात पुग्नेछन् ।

होटलमा केहीबेर आराम गरेपछि मोदी सैनिक मञ्च टुँडिखेल जानेछन् । त्यहाँ नेपाली सेनाले उनलाई सम्मानगारत अर्पण गर्ने कार्यक्रम छ ।

त्यसपछि मोदी उच्चस्तरीय भेटघाटमा सक्रिय हुने बताइएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग करिब पाँच बजे उपराष्ट्रपति कार्यालय, बहादुर भवनमा भेटवार्ताकाे समय ताेकिएकाे छ ।

उपराष्ट्रपतिपछि मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने कार्यतालिका छ ।

त्यसपछि उनी बत्तीसपुतलीस्थित होटल द्वारिकाज पुग्नेछन् ।  दुई देशका समकक्षीबीच यही भेटवार्ता हुनेछ । मोदी र ओलीले अरुण तेस्रोका संयुक्तरुपमा शिलान्यास गर्ने बताइए पनि समय भने तय भइनसकेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

मोदीको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले आजै रात्रिभोजको आयोजना गरेका छन् । रात्रिभोजमा सहभागी भएपछि मोदी हायातमा फर्केर बास बस्नेछन् ।

 

मोदीको नेपाल भ्रमणलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि नेपाली सेनाको नेतृत्वमा चारवटै सुरक्षा अंग परिचालन गरिएको छ ।

गृहमन्त्रालयका अधिकारीहरुका अनुसार जनकपुर, काठमाडौं र मुस्ताङको मुक्तिनाथमा नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागको टोली परिचालित छन् । नेपाली सुरक्षाकर्मी बाहेक भारतले पनि आफ्ना सुरक्षाकर्मीको छुट्टै टोली खटाएको छ ।

 

मुक्तिनाथमा भारतीय सेनाको टोली बिहीबार नै पुगिसकेको छ ।

धार्मिक र सांस्कृतिक भ्रमणका लागि मोदी पटनाबाट सीधै जनकपुर आउँदैछन् । त्यहाँ जानकी मन्दिरमा पूजाआजा गरेर नागरिक अभिनन्दन ग्रहण गरेपछि उनी दिउँसो १ बजे काठमाडौं आउनेछन् ।

मोदी विमानस्थलमा अवतरण गर्नुभन्दा केहीबेर अघिदेखि नै सबै उडान अवतरण रोकिने छ । करिब १ बजेदेखि करिब पौने २ बजेसम्म नियमित उडान अवतरण रोकिने विमानस्थल स्रोतले बतायो ।

मोदी त्रिभुवन विमानस्थलमा करिब सवा १ बजे अवतरण गरेपछि त्यहाँबाट सीधै होटल हायातमा जानेछन् । एयरपोर्ट–गौशाला–चाबहिल हुँदै चुच्चेपाटीस्थित होटल हायातमा पुग्दा सडक पनि खाली गराइने छ । विमानस्थलबाट चुच्चेपाटी, चुच्चेपाटीबाट सम्मान गारद ग्रहण गर्ने स्थान टुँडिखेल, टुँडिखेलबाट उपराष्ट्रपति कार्यालय बहादुर भवन, बहादुर भवनबाट शितल निवास र शितल निवासबाट बत्तीसपुतली लगायतका क्षेत्रमा पनि कडाइ गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्