गोपालप्रसाद पोखरेल : पथरी, मोरङ, ९ जेठ / शुरुवाती दिनमा श्रम गरेरै संघर्ष गरेका मोरङ उर्लाबारी–९ का सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा समाजसेवामार्फत गाउँ विकास गरिरहनुभएको छ ।
कैले सडक बत्ती जडान त कैले विद्यालयमा विविध सहयोग । त्यत्तिमात्र होइन, खेलकुद तथा बाटोघाटो निर्माणमा पनि उहाँको सहयोग उदाहरणीय छ । चुनाव आएपछि यो गर्छु र त्यो गर्छु भन्ने नेताका लागि उहाँको यो काम यतिबेला गतिलो झापड भएको छ ।
सुन्दरलाई जान्ने बुझ्ने समाजसेवी तेजन खड्का भन्नुहुन्छ, उहाँले गाउँका लागि महत्वपूर्ण सहयोग गर्नुभएको छ । धन र मन दुवै भएका व्यक्तित्व हुनुहुन्छ सुन्दर । गाउँको विकास गर्ने हो भने इच्छाशक्ति र सहयोगी मन भएका व्यक्ति चाहिन्छ । सुन्दरले आफ्नै लगानीमा गाउँ नै सुन्दर बनाउँदै हुनुहुन्छ । सुन्दर अर्थात् समृद्धियुक्त गाउँ ।
यो यात्रामा उहाँ निरन्तर लागिरहने प्रण गर्नुहुन्छ । उहाँले विद्यालयमा सहयोग गर्नुभएको छ भने गाउँ (राजघाट) मा सडक बत्ती जडान गरिदिनुभएको छ ।
उहाँले आफ्नै लगानीमा बाटोघाटो निर्माण गर्नुभएको छ । खेलकुद तथा कला संस्कृतिमा पनि उच्च सहयोग गर्नुभएको छ । सकारात्मक सोच बोकेर सहयोगका लागि हात फिँजाएर आएको मानिसलाई सुन्दरले अहिलेसम्म खाली हात फर्काउनु भएको छैन । उर्लाबारी–९ को प्रभात निमाविमा उहाँले मञ्च निर्माण गरिदिनुभएको छ । घेराबारामा पनि सहयोग गर्नुभएको छ । यति मात्र होइन, सोही विद्यालयमा रङगरोगन गरेर चिटिक्क पार्नुभएको छ ।
यस्तै, उर्लाबारी–९ कै राजघाट निमाविमा विद्यालयको घेराबारापछि गेट निर्माण गरिदिनुभएको छ । हाल सोही विद्यालयका १० जना विद्यार्थीको पठनपाठनको खर्च सबै आफैँले बेहोर्नेु भएको छ ।
सुन्दरले नै गर्दा गाउँको पोलपोलमा सडक बत्ती जडान भएको छ । गाउँ झलमल्ल भएको छ । सुन्दरको सहयोग यतिमै सीमित छैन, गाउँको किर्तन मण्डली, मठमन्दिर, खेलकुदमा पनि उहाँको सहयोग उच्च छ ।
सुन्दर भन्नुहुन्छ, “धनभन्दा पनि मन भएर सहयोग गरेको हुँ । म त्यस्तो धनी मान्छे पनि होइन, यति हो खान लगाउन र समाजमा अलिकति सहयोग गर्न गाह्रो छैन ।” हाल उहाँले आफ्नो गाउँमा एकल लगानीमा बाटो खोलिदिएपछि खेत भित्रभित्र सम्म बाटो पनि बनेको छ ।