Logo

उपेन्द्र सरकारमा गएपछि महन्थ असन्तुष्ट



जेठ २१, काठमाण्डौ । संविधान संशोधन नभएसम्म सरकारमा सहभागि नहुने अडान लिएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव अन्ततः कागजी सम्झौता गरेकै भरमा सरकारमा सहभागि भए ।

संविधान संशोधन लगायतका कतिपय माग एउटै भए पनि राष्ट्रिय जनता पार्टीलाई भने सरकारमा सहभागि हुने अवसर जुरेन ।

प्रदेश नम्बर दुईमा दुवै दल मिलेर संयुक्त सरकार बनाउने बेला दुई दलबीच एकता नै हुनेसम्मका चर्चा चलेको थियो ।

तर अहिले परिस्थिती बदलिएको छ ।

सरकारसँग दुई बुँदे सम्झौता गरेर उपप्रधानमन्त्री बनेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजनक महन्थ ठाकुर असन्तुष्ट बनेका छन् ।

प्रधानमन्त्री केपी ओली नेकपाका अध्यक्ष प्रचण्डसँग दुई बुँदे सहमति भइसकेपछि पनि संयोजक ठाकुरले यादवलाई टेलिफोन गरेर तत्काल सरकारमा सहभागि नहुन सुझाब दिएका थिए ।

तर यादवले सरकारसँग सम्झौता भइसकेकाले अब पछि हट्न नसक्ने भनेर पन्छिए । ठाकुरले त सरकारसँग मधेशका मुद्दासँग सम्बन्धित विगतमा पनि धेरै सम्झौता भए पनि कार्यान्वयन नभएको स्मरण गराउँदै सरकारमा जाने निर्णय पुनर्विचार गर्न सचेतसमेत गराएका थिए ।

तर यादवले महन्थको कुरा वेवास्ता गरेपछि अहिले दुई दलबीच भएको प्रदेश नम्बर दुईको गठबन्धनसमेत धरापमा परेका कतिपयले दाबी गरेका छन् ।

तर राजपाका एक नेताले सबै घटनाक्रम बताइरहँदा प्रदेश नम्बर दुईको संयुक्त सरकारमा भने कुनै समस्या नहुने बताए ।

यादवले पनि ठाकुरलाई प्रदेश दुईको सरकारमा भएको गठबन्धन नटुट्ने विश्वास दिलाउँदै संघीय सरकारमा पनि राजपालाई सहभागि हुने वातावरण बनाउने आश्वासन दिएको ति नेताले बताए ।



प्रतिक्रिया दिनुहोस्