Logo

किसानहरु ढुक्क भए हुन्छ, मेरो पालामा राम्रा कामको सुरुवात हुन्छ : खनाल



कृषि, भूमि तथा सहकारी मन्त्री चक्रपाणी खनाल कृषि क्षेत्रको परिवर्तनका लागि सक्रिय देखिएका छन् । तर उनको सक्रियता कति सार्थक छ ? वर्षौदेखिको पुरानो परम्परा तोडेर कृषि उत्पादन बढाउनका लागि के कस्ता योजना छन् त ? ५ वर्षमा कृषि उत्पादन दोब्बर बनाउने सरकारको लक्ष्य भेटिन्छ त ? ऋषि धमलाले मन्त्री खनालसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

कृषिमन्त्री भइसकेपछि तपाईले केके कामा गर्नुभयो ?
कृषिको क्षेत्रमा नीतिगत रुपमा राम्रो गुरुयोजना तयार गरेका छौँ । आगामी दुई वर्षदेखि १० वर्षसम्मको योजना बनाएका छौँ । पाँच वर्षभित्रमा कृषि उत्पादनलाई दोब्बर बनाउने भनेर लक्ष्य लिएका छौँ ।

समस्या र चुनौति धेरै छन् । लक्ष्य हासिल गर्न सक्नुहुन्छ त ?
समस्या र चुनौति त डरलाग्दा नै छन् । तर कृषि क्षेत्रका लागि कार्यान्वयन गर्न सकिने योजना बनाएका छौँ । सामुहिक र सहकारीमा जोड दिने र एकीकृत प्रणालीमा लान सकियो भने हामीले केही वर्षभित्रमा नै कृषिमा क्रान्ति ल्याउन सकिन्छ ।

कृषिमा क्रान्ति गर्ने भनेको दशक भइसक्यो । पुरानै कृषि प्रणाली कहिले विस्थापित गर्नुहुन्छ ?
पुरानै र निर्वाहमुखी कृषि प्रणाली, सिंचाईको समस्या, मल, बिउको समस्या हटाउनुपर्छ । यसका लागि अन्तरमन्त्रालय समन्वयको खाँचो छ । परम्परागत कृषि प्रणाली हटाएर आधुनिक कृषि खेति गर्नुको विकल्प छैन । यसका लागि म गम्भीरतापूर्वक लागेको छु ।

जमिन र कृषि एकअर्कामा सम्बन्धित छन् । कृषि उत्पादन बढाउनका लागि जमिन व्यवस्थापन कसरी गर्नुहुन्छ ?
हाम्रा केही नीतिहरुमा नै सच्याउनुपर्ने छ । कतिपय ऐन कानुनहरु पनि बाझिएका रहेछन् । संविधानअनुसारका केही ऐनहरु पनि बन्नुपर्ने अवस्था छ । जमिन र कृषिको सम्बन्ध जसरी जोडिएको छ, त्यसैगरी नीतिमा पनि परिवर्तन गर्नुपर्छ । कृषियोग्य जमिनको खण्डिकरण रोक्छौँ ।

जग्गा प्लटिङ गरेर कृषि उत्पादन घटाउने काममा ठूलै गिरोह संलग्न छ । नेपालका मन्त्रीहरु पैसाको प्रभावमा पर्छन् । तपाई ?
पैसा खुवाएर काम लिने सम्भावना छैन । जहाँ जहाँ पैसा खुवाएर काम गर्न सकिने अवस्था छ, त्यसका कानुन नै अझै बलियो बनाउन निर्देशन दिएको छु । पैसा खुवाएर काम गर्न सक्ने कानुन नै परवर्तन गर्छु ।

स्वदेशमै कृषि क्षेत्रमा लगानी गर्नेहरुका लागि सरकारले प्रोत्साहन गरेन भन्ने गुनासो छ नि ? विदेशमा आधुनिक कृषि खेति सिकेर आएकालाई पनि सरकारले कुनै सहयोग गरेका पाइदैन ।
विभिन्न देशमा गएर आधुनिक कृषि खेति सिकेर आएका दक्ष जनशक्तिलाई प्रोत्साहन गर्नैपर्छ । विदेशमा केही वर्ष काम गरेर कमाएको पैसा नेपालको कृषि क्षेत्रमा लगानी गर्नेहरु प्रशस्तै छन् । उनीहरुका लागि राज्य सहयोग गर्न नसक्दा दुई तीन वर्ष काम गरेर भएको पैसा सक्ने आम्दानी गर्न नसक्ने र पुनः ऋण खोजेर विदेश जानुपर्ने अवस्था पनि देखियो । यस्ता समस्या समाधानका लागि म गम्भीरतापूर्वक लागेको छु ।

तपाई मन्त्री भएपछि कृषकहरुमा उत्साह जाग्न सकेको छ त ?
अहिले कृषि क्षेत्रको बहस चल्न थालेको छ । निर्यातलाई केन्दमा राखेर व्यवसायिक खेति गर्ने कुरा प्राथमिकतामा पर्न थालेको छ । व्यवसायिक निजी क्षेत्रबाट पनि कृषि व्यवसायमा लगानी गर्ने कुरा भइरहेको छ । तर सरकारले ठिक ठिक ठाउँमा अनुदान दिनुपर्ने कुरामा जोड दिइएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कको काम प्रभावकारी भएन भन्ने सुनिन्छ । नार्कलाई कसरी परिचालन गर्दै हुनुहुन्छ ?
नार्कले पहिला राम्रो काम गरेको थियो । तर अहिले माग पूर्ति गर्न सकेको छैन । जनताको घरदैलोमा कृषि सेवा पुर्याउन सकेको छैन । व्यवहारिक रुपमा किसानसँग जोडिने काम गर्नुपर्छ । सरकारले पनि जानतासँग प्रत्यक्ष जोडिने काम बनाएन भने त कुरा मात्रै हुन्छ, काम हुँदैन ।

तपाईले पनि मन्त्री भएपछि कुरा धेरै गर्नुभयो । काम देखिएन नि ?
२,४ वर्षभित्रमा कृषिमा राम्रो नतिजा देखिन्छ । मेरो पालामा केही राम्रा कामको सुरुवाता हुन्छ । यसमा किसानहरु ढुक्क भए हुन्छ । म कृषि क्रान्तिको जग बलियो बनाउन सक्छु भनेर नै मिहिनेत गरिरहेको छु ।

तपाई लाग्नुभएको छ, तर जनताले परिणाम खोजेका छन् । किसानहरुको दीर्घकालिन समाधान खोज्न सक्नहुन्छ ?
सकिन्छ । परिणाम भनेको तुरुन्तै देखिदैन । हामीले अहिले तत्काल लागु गर्न सकिने र दीर्घकालिन गरी दुई प्रकारका योजना बनाएर काम गरिरहेका छौँ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot