जेठ ३१, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएको छ । चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ओली असार ५ गते त्यस तर्फ जान लागेका हुन् ।
उनी असार १० गते स्वदेश फर्केन कार्यक्रम रहेको छ । भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतित पूर्वाधान तथा यातायातमन्त्री रघुवीर महाशेठ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री पत्नी राधिका शाक्य लगायत रहने परराष्ट्रमन्त्रालयले जनाएको छ ।
भ्रमणको क्रममा प्रधानमन्त्रीले चिनियाँ समकक्षी ली सहित वरिष्ठ चिनियाँ अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ । उनले त्यहाँ नेपाल चीन व्यापारिक मञ्चलाई सम्वोधन गर्नेछन्। सो अवसरमा दुई देशले केही सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको पनि परराष्ट्रले जनाएको छ ।
प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले २०१६ मार्चमा भएको तत्कालिन प्रम ओलीको चीन भ्रमणका क्रममा जारी भएको संयुक्त बक्तव्यमा भएका विषय कार्यान्वयनलाई यसपटकको भ्रमणमा जोड दिइने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रिमालले एजेण्डा थप्दै जानुभन्दा पनि पुराना सम्झौता कार्यान्वयनलाई यसपटक प्राथमिकतामा राखिने रिमालले स्पष्ट पारे ।
अब आउने अगष्टसम्ममा चिनियाँ रेल नेपालमा ल्याउने विषयमा पूर्व प्रारम्भिक सम्भाव्यता अध्ययन सकिने रिमालले बताए ।
यही सरकारले पाँच वर्षको कार्यकालमा चिन रसुवागढी काठमाण्डौ जोड्ने रेलको एउटा नतिजा हासिल गरेरै छाड्ने रिमालले दाबी गरे ।
नेपालमा लगानी गर्नका लागि उचित समय आएको भन्दै रिमालले चीनको लगानी नेपालमा बढाउने विषयमा पनि छलफल हुने उनले बताए ।