Logo

मिनेन्द्रलाई कानुनमन्त्रीको जवाफ-‘घोक्रो फुलाएर बोल्दैमा केही हुँदैन’



असार १३, काठमाण्डौ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङले नै नियमविपरित अभिव्यक्ति दिँदै हिँडेकोभन्दै कांग्रेस नेताडा. मिनेन्द्र रिजालले आपत्ति जनाएका छन् । संसदमा कानुनमन्त्री लगायत अन्य मन्त्रीहरु पनि नियमविपरित बोल्दै हिँडेको आरोप लगाएका रिजालले आज नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कानुनमन्त्री तामाङले न्यायाधिशहरुलाई कारबाही गर्दै हिँड्छु भन्नु गलत भएको बताए ।

“अदालतबाट आएको फैसला चित्त बुझेन भनेर न्यायाधिशलाई तर्साउन भएन । एउटा फैसलाको आधारमा न्यायाधिशलाई कारबाही गर्न पाइदैन । न्यायाधिशलाई अनुशासनको कारबाही गर्ने निकाय न्याय परिषद हो । कानुनमन्त्री आफैँ न्याय परिषदको सदस्य हुनुहुन्छ । कुनै न्यायाधिशमाथि आवश्यकतअनुसार अनुसन्धान गर्न सक्नुहुन्छ । तर सार्वजनिक रुपमा धम्क्याउन पाइदैन । दुई तिहाइ बहुमतको सरकार भन्दैमा विधि र नियमविपरित बोल्न र काम गर्न पाइदैन ।” रिजालले भनेका छन् ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङले भने आफूले संविधान र कानुनविपरित कुनै अभिव्यक्ति नदिएका जिकिर गरेका छन् । नेपाली बहसमा नै कुरा गर्दै मन्त्री तामाङले रिजालले आरोप मात्रै लगाएको बताए ।

रिजालको आरोपमा कुनै तथ्य नभएको तामाङको दाबी छ । आफूले कुनै पनि न्यायाधिशलाई धम्क्याउने, दबाब दिने जस्ता काम नगरेको तामाङको भनाई छ । यद्यपी न्यायाधिशका बारेमा न्याय परिषदमा छलफल भने गरिएको उनले स्विकार गरे ।

“आजको मितिसम्म कोही न्यायाधीश कारबाहीमा परेको छैन । संसदमा तथ्य प्रमाणबिना चर्को स्वरले बोल्दैमा आरोप पुष्टी हुदँैन । घाँटी सुकाएर र घोक्रो फुलाएर बोल्दैमा प्रमाणित हुन्छ र ?” तामाङले भने ।

रिजालले संसदमा अनावश्यक कुरा गरेको भन्दै तामाङले असन्तुष्टी व्यक्त गरेका छन् । “उहाँले जुन शैली प्रयोग गरिरहनुभएको छ, त्यो तथ्य प्रमाणमा आधारित छैन ।” उनले भने ।



प्रतिक्रिया दिनुहोस्