Logo

अविरल वर्षापछि देशका विभिन्न स्थानमा डुबानको खतरा : के गर्दैछ सरकार ?



असार १८, काठमाण्डौ । वर्षायाम सुरु भएसँगै मनसुन सक्रिय भएको छ । अविरल वर्षासँगै देशका केही ठाउँमा डुवान भएको छ । खहरेखोला र नदीहरुमा पानीको सतह बढेको छ । बाढी र पहिरोको जोखिम पनि उतिकै छ ।

अबिरल वर्षाको कारण देशका विभिन्न स्थान डुबानमा परेको छ । आज विहानैदेखि विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेकाले नदी, खोला छेउका वस्ती डुबानमा परेको छ भने बाढी पहिरोको त्रास फैलिएको छ ।

बाँकेको नेपालगञ्जस्थित न्युरोड, सेतु विक चोक, विरेन्द्र चोक लगायतका क्षेत्र जलमग्न छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका बेलासपुर, धम्बोझी, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँमासमेत डुबान भएको छ ।

बजार र ग्रामिण बस्ती नै डुबानमा परेपछि स्थानीयबासीको दैनिकी प्रभावित भएको छ । यातायात आवामन र व्यवसाय प्रभावित भएको स्थानीयबासीले बताएका छन् । स्कुल कलेज जाने विद्यार्थी, कर्मचारी र कामविशेषले घर बाहिर जानुपर्नेहरु समस्यामा परेका छन् ।

यस क्षेत्रमा वर्षेनी हुने डुबान हुने गरे पनि समस्या समाधानको उचित पहल भएको छैन । पानी निकासको प्रवन्ध नमिलाउँदा र सीमा क्षेत्रमा भारतीय पक्षले बाँध बाँध्दा नेपालगन्ज डुबानमा पर्ने गरेको हो । भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी गाउँ डुब्ने गर्दछन् ।

वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचित गरेको छ । उद्धारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ ।

यता नारायणी नदीको रिउखोला बनकट्टा र बबई नदीको चेपाङ क्षेत्रमा पानीले खतराको सूचक पार गरेको छ ।
नारायणीमा खतराको सूचक बिन्दु ३ मिटर भए पनि सोमबार बिहान साँढे ११ बजेको रेकर्डअनुसार साढे ३ मिटर पुगिसकेको छ । यसैगरी बबईको चेपाङमा ५ मिटर ५० सेन्टिमिटर खतराको लेभल भए पनि ६ मिटर पुगिसकेको छ । अहिले खतराको जानकारी दिन साइरन बजाइएको छ ।

कर्णाली, बबई, पश्चिम राप्ती, नारायणी लगायतका नदीहरुमा पनि बहाव बढ्ने क्रम जारी छ ।

कर्णाली नदीको बहावले पनि चिसापानी र गुराँसे क्षेत्र जोखिममा परेका छन् । यसैगरी बबई नदीको बहावले गुलरिया, चेपाङ, रानी जरुवा, पदमपुर क्षेत्र जोखिममा छन् ।

राप्ती नदीको कारण नेपालगञ्ज र लमही तथा नारायणी नदीले रजैया क्षेत्र जोखिममा परेको मौसम विज्ञान विभागले जनाएको छ ।

गएराति देखिको अविरल वर्षा र बाढीले चितवनको माडी–ठोरी सडकखण्डको रौतनी खोलाको पुल भाँसिएको छ । रिउ खोलाको पानी सतह खतराभन्दा माथि पुगेपछि प्रहरीले सतर्क रहन अपिल गरेको छ ।

रौतनी खोलाको पुल भाँसिएपछि माडी–ठोरी सडकखण्ड अवरुद्ध बनेको छ ।

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ भने  सिद्धार्थ राजमार्गको आवागमन एकतर्फी खुलेको छ ।

नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५ः१० बजेदेखि एकतर्फी सञ्चालनमा रहेको सडक बिहान ८ बजे ठूलो चट्टान खसेपछि पूर्ण रुपमा अवरुद्ध छ ।

हरेक वर्षको वर्षात्मा हुने बाढी पहिरो र डुबानको समस्या न्यूनिकरणका लागि सरकारले भने प्रभावकारी कदम चालेको पाइदैन ।
केही स्थानमा खतराको जानकारी जनतालाई गराउनेबाहेक अरु खास कदम नचालिदा यस वर्षको वर्षातमा पनि धन–जनको क्षति हुने सम्भावना देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्