असार २१, काठमाण्डौ । केपी ओली नेतृत्वको सरकारले शेरबहादुर देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गरेको छ ।
बुधबार राति अबेर सकिएको मन्त्रिपरिषद् बैठकले निर्वाचन आचार संहिता लागू भएपछि गरिएका सबै नियुक्ति बदर गरेको हो ।
जसअनुसार भदौ १४ देखि फागुन २ सम्म भएका सबै राजनीतिक नियुक्तिहरु बदर भएको छ । कसैको नाम नतोकी एकमुष्ट रुपमा गरिएको बदरको निर्णयले सातै प्रदेशका प्रमुखहरु पनि घर फर्किनेछन् ।
प्रदेश प्रमुखहरुलाई देउवा नेतृत्वको मन्त्रिपरिषद्को माघ ३ गते बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको थियो । फोरम र राजपाको सिफारिसमा १–१ जना र ५ जना कांग्रेसको सिफारिसमा देउवाले प्रदेश प्रमुख नियुक्ति गरेका थिए ।
त्यसबेलामा नै बाम गठबन्धनले देउवाले गरेको नियुक्तिकोकडा विरोध गरेको थियो । चुनावी नतिजा आइसकेपछि देउवाले नियुक्ति गरेपछि त्यसबेला एमालेका अध्यक्ष केपी ओली लगायतका नेताहरु आक्रोषित भएका थिए । उनीहरुले आफ्नो सरकार बनेपछि सबै नियुक्ति बदर गर्ने चेतावनी दिएका थिए ।
देउवा नेतृत्वको सरकारले प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।
प्रदेश प्रमुखहरुको नियुक्ति र बदर मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । ओली सरकारले नियुक्ति बदरको सिफारिस गरेमा राष्ट्रपतिले त्यसलाई सदर गर्नुपर्नेछ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिलसिलामा निर्वाचन आचारसंहिता लागू भएको मिति २०७४ भदौ १४ गते यता नेपाल सरकारका बिभिन्न मन्त्रालय अन्तर्गतका प्राधिकरण, संस्थान, परिषद, बोर्ड, समिति, कम्पनी ऐनको अन्य संगठित संस्थामा आदि संस्थामा मन्त्रिपरिषद तथा मन्त्रीस्तरबाट भएका सबै किसिमका राजनीति नियुक्ति एवम् मनोनयन खारेज गर्ने निर्णय गरिएको छ ।