मन्थली, २३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारत र चीनसँग प्रधानमन्त्री केपी शर्मा ओली लम्पसार परेको आरोप लगाएका छन् । उनले चीनबाट रेल ल्याउने प्रधानमन्त्री ओलीको भनाइ सपना मात्र भएको टिप्पणी गरे ।
शनिबार रामेछापको मन्थलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले प्रजातान्त्रिक मूल्य र मान्यतालाई कुल्चिएर सरकार निरंकुशतातर्फ उन्मुख भएको टिप्पणी गरेका हुन् । आफू नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेर ओली सरकारले मुठभेड निम्त्याउन खोजेको आरोप लगाए ।
उनले आफ्नो सरकारले गरेका नियुक्ति खारेज गर्ने ओली सरकारको कदम कुनै हालतमा स्विकार्य नहुने स्पष्ट पारे । सरकारले गरेको निर्णयको कडा प्रतिवाद गर्ने उनको चेतावनी थियो । देउवाले अनशनरत डा. गोविन्द केसीको सत्याग्रहमा सरकारले अवरोध पुर्याएको घटनाप्रति पनि आपत्ति जनाए ।