असार २४, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाको माइतीघर मण्डला लगायतका स्थानमा जारी गरिएको निषेधाज्ञा नहट्ने प्रष्ट पारेका छन् ।
साथै डा. गोविन्द केसीले आमरण अनसन बस्दैमा काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउन नसकिने ओलीले बताएका छन् । जनताले तिरेको करबाट तलब खाने कर्मचारीले आफ्नो काम गर्नु पर्ने भन्दै उनले राजनीतिक गर्ने भए पार्टी प्रवेश गर्न डा. केसीलाई आग्रह समेत गरेका छन् ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले ओलीले भनेको उक्त कुरा सही भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रिमालले चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता गराउने निर्णय गरिसकेको भन्दै सोही विधेयक पास गराउने बताए ।
पहिला विधेयक नै ल्याइएन भन्ने बहानामा राजनीतिक रंग दिएर गोविन्द केसी अनशन बसेको दाबी गर्दै रिमालले अहिले विधेयक दर्ता गर्नु हुँदैन भनेर निहुँ खोजिएको आरोप लगाए ।
चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि सरकार प्रतिवद्ध भएको बताउँदै रिमालले चिकित्सक उत्पादन गर्ने विषय कसैले रोकेर नरोकिने स्प्ष्ट पारे ।
सरकारलाई मेडिकल क्षेत्रका माफियाले दबाब दिएको हो भन्ने धमलाको प्रश्नमा रिमालले अस्विकार गरे ।
कसैले घुर्कीको भरमा अनावश्यक माग अघि सार्यो भने त्यसलाई सरकारले ध्यान नदिने उनको भनाई छ ।
सरकारले अधिनायकवाद लाद्न खोज्यो भन्ने आरोपको खण्डन गर्दै रिमालले कसैले भनेको जस्तो भएन भन्दैमा अधिनायकवादको बिल्ला भिराउनु उचित नहुने उनको तर्क छ ।
कानुनअनुसार सरकार चल्ने स्पष्ट पार्दै रिमालले कसैसँग पनि सरकार नझुक्ने स्पष्ट पारे ।
यसअघिको सरकारले निर्वाचन आचारसंहिता लागु भएपछि गरेका निर्णय वा नियुक्ति बदर गर्ने निर्णय नियमसम्मत भएको रिमालले बताए ।
अहिले प्रदेश प्रमुखहरुको सवालमा भने कुनै निर्णय नगरिएको रिमालले बताए ।
क्यानडा भ्रमणमा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई प्रधानमन्त्री ओलीले किन फर्काए भन्ने धमलाको प्रश्नमा रिमालले भने, ‘मलाई यस विषयमा ज्ञान त छैन, तर उपकुलपति जस्तो व्यक्ति बाहिर जाँदा विदा स्विकृत गराएर मात्रै जानुपर्ने हुन्छ । यदी त्यसो नगर्नुभएको भए प्रधानमन्त्रीले फर्काउनुभएको हुन सक्छ ।‘
क्यानडा भ्रमणमा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई शनिबार साँझ प्रहरीले विमानस्थलबाटै पक्रेर प्रधानमन्त्रीनिवास बालुवाटार र्पुयायो । कोइरालाका अनुसार प्रहरीले उनलाई बालुवाटारको एउटा कोठाभित्र करिब एकघण्टा थुनेर राखेको थियो ।
प्रधानमन्त्रीज्यूले भेट्न खोजेको भन्दै बालुवाटार लगिए पनि प्रधानमन्त्रीसँग भेट्न नदिई जहाज उडिसकेपछि मात्रै कोइरालालाई घर फर्काइएको थियो ।
कोइराला तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा संस्कृत विश्वविद्यालयमा उपकुलपतिको जिम्मेवारी पाएका थिए ।