काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला गाउँदेखि केन्द्रसम्म एकमुष्ट विभिन्न पदमा नियुक्ती गर्ने तयारीमा जुटेका छन् । स्रोतका अनुसार विभिन्न संस्थानदेखि अन्य क्षेत्रमा पनि एकमुष्ट नियुक्ती गर्ने ओलीको चाहना छ । सोही अनुसार अहिले उनले आफू निकटका नेताहरुसँग परामर्श समेत थालेका छन् ।
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका कर्मचारीहरु हटाउने निर्णय वर्तमान सरकारले गरिसकेको छ । अब रिक्त रहेका विभिन्न पदहरुमा छिट्टै नियुक्ती गर्नेगरि ओलीले आन्तरिक तयारी थालेका छन् ।
विभिन्न संस्थानका महाप्रबन्धक बनाउनेदेखि लिएर प्रदेश प्रमुखहरुपनि नयाँ नियुक्ती गर्ने सरकारको तयारी रहेको स्रोतको दाबी छ । यद्धपी सरकारले प्रदेश प्रमुखहरुलाई तत्काल नहटाउने मनशाय बनाएकोपनि बुझिएको छ ।
प्रधानमन्त्री ओलीले नियुक्तीबारे पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगपनि छलफल गर्न लागेका छन् । अध्यक्षद्धय ओली र प्रचण्डको सहमतिमै सबै नियुक्तीहरु टुँगो लगाउने सरकारको योजना छ । सम्भवतः अबको एक दुई हप्ताभित्रै नियुक्तीको प्रक्रिया अघि बढाउने प्रधानमन्त्री ओलीको तयारी छ । यसको लागि उनले आफू निकटका नेता एवम् मन्त्रीहरुलाई समेत आवश्यक निर्देशन दिईसकेका छन् ।