जानकी मन्दिरको विद्युतीकरणमा एनआरएनएको साथ
जनकपुर, २५ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संंस्थापक अध्यक्ष तथा उद्योगपति डा. उपेन्द्र महतोले देश वनाउने जिम्मा आफूहरुमाथि रहेको वताएका छन् । उनले भने,”हाम्रो देश कुनै विदेशीले आएर बनाईदिँदैन्, हामीले नै बनाउने हो, त्यसैले आआफनो ठाउबाट इमान्दारीताका साथ अगाडी बढ्न म आग्रह गर्छु।”
सोमबार जनकपुरको जानकी मन्दिरको प्रांगणमा आयोजित कार्यक्रममा बोल्दै डा. महतोले यस्तो बताएका हुन् । उनले जानकी मन्दिरलाई सजाउने अभिप्रायले गरिएको सम्झौताले जनकपुरधाम अझै सुन्दर बन्ने कुरामा विश्वस्त रहेको समेत बताए ।
उनले संस्कारले नै देशलाई चिनाउने भएकोले संस्कारलाई संरक्षण गर्दै देशलाई अगाडी बढाउनु हाम्रो मुख्य चुनौती रहेको वताए ।
विश्व सम्पदा सूचीमा सूचिकृत हुने तयारीमा रहेको जानकी मन्दिर अब पूर्ण विद्युतीकरणले सजिसजाऊ हुने भएको छ । धार्मिक पर्यटन क्षेत्रको केन्द्रविन्दुको रुपमा रहेको जानकी मन्दिरलाई सौन्दर्यीकरण गर्ने दृष्टिकोणले विद्युतीकरणमार्फत करिव ५ करोड रुपैयाँको लगानीमा सजावट गर्नका लागि जानकी मन्दिर र एनआरएनबीच १२ बुँदे सम्झौता भएको छ ।
जानकी मन्दिरको प्रांगणमा सोमवार आयोजित कार्यक्रममा जानकी मन्दिर छुठ गुठी र एनआरएनबीच मन्दिरको सौन्दर्यकरण गर्नको लागि सम्झौता पत्रमा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्थ रामरोशन दास वैष्णवले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
जानकी मन्दिरलाई विद्युतीकरणद्वारा सौन्दर्यीकरण योजनासम्बन्धी सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिर देशकै धरोहर रहेको र यसलाई सौन्दर्यीकरण गर्नको लागि एनआरएनएको कार्यको उच्च प्रशंसा गर्दै सराहनीय रहेको वताए ।
उनले प्रदेश नं २ लाई आकर्षणको केन्द्र बनाउनका लागि सौन्दर्यीकरणको कार्यबाट पर्यटन प्रवद्र्धनमा उल्लेख्य प्रभाव पार्ने र यस क्षेत्रलाई ध्यान दिनु आवश्यक रहेको बताउदै विश्वप्रसिद्ध जानकी मन्दिरको सौन्दर्यीकरणका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । उनले यसका लागि जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताए ।
ऐतिहासिक, सांस्कृतिक र धार्मिक धरोहर रहेका र पर्यटकलाई प्रभावकारी ढंगले आकर्षित गर्नका लागि विद्युतीकरणबाट सुन्दर बनाउने प्रयास गरिएको एनआरएनका अध्यक्ष भवन भट्टले बताए ।
जानकी मन्दिर परिसरमा प्रकाश प्रज्जवलित गर्न एनआरएनले विस्तृत योजना तयार पारेको उनले जानकारी दिए । जानकी मन्दिरमा गरिने विद्युतीयकरण सोलार र विद्युत् दुवैबाट सञ्चालित हुने उनले प्रस्ट्याए ।
सम्झौता अनुसार गैरअवासीय नेपाली संघद्वारा आफ्नै साधन र स्रोतबाट जानकी मन्दिर परिसरभित्र अत्याधुनिक विद्युतिय प्रकाशमार्फत मन्दिर परिसर प्रज्वलीत गरिने, मन्दिर परिसरमा प्रकास प्रज्वलीत गर्नका लागि संघले एक विस्तृत योजना तयारी गरि गुठीलाई प्रस्तुत गर्ने र परिसरको विद्युतीकरण गर्दा लाग्ने तार, उपकरण, बत्ति आदिको जडानका लागि लाग्ने सवै खर्चएनआरएनएले व्यहोर्ने लगायतको सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
जनकपुर उपमाहानगरपालिकाको प्रमुख लालकिशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनका सल्लाहकार रामेश्वर शाह, उपप्रमुख रिता झा, उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवसंकर साह हिरा, लगायतको उपस्थिति रहेको थियो ।