असार २६, काठमाण्डौ । वीरगंजका सौरभ जैन १० किलो सुनसहित भारतको सिलिगुडीबाट पक्राउ परेका छन् ।
चर्चित ’हुन्डी र सुन कारोबारी’ सन्तोष जैनका छोरा ‘राजा’ भनिने सौरभ नेपाली रुपैयाँ सवा पाँच करोड मूल्य पर्ने १० किलो सुनसहित शनिबार पक्राउ परेका हुन् ।
वीरगंज महानगरपालिका वडा नं–६ रेशमकोठीका बासिन्दा सौरभ र उनका चालक दिलीप चौरसियालाई भारतको राजस्व निर्देशनालय (डिआरआई) को टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सिलीगुडीबाट मुज्जफरपुर आउने क्रममा फुलवाडी–घोषपुकुर सडकखण्डबाट दुबै जनालाई पक्राउ गरिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।
पक्राउ परेका दुबैलाई आइतबार अदालतमा पेस गरी न्यायिक हिरासतमा राखी अनुसन्धान हुँदैछ। पक्राउ परेका जैन र चौरसियासँग नेपाली नागरिकता फेला परेको अन्सन्धान टोलीले जनाएको छ ।
भारत बिहार, राज्य, पूर्वी चम्पारण घर भएका जैनले ०६३ सालमा नेपाली जन्मसिद्ध नागरिकता लिएका हुन् भने चौरसियाको वंशजको नागरिकता छ ।
सौरभ जैन वीरगंजमा भएको हुन्डीकाण्डका फरार अभियुक्त हुन् । ०७३ सालमा जैन निवास वीरगंज–६ रेशमकोठीमा पर्सा प्रहरीले छापामारी गर्दा अवैद्ध रूपमा वित्तीय कारोबार गरेको घटना सार्वजनिक एको थियो । त्यस बेला जैन निवासबाट स्रोत नखुलेको २ करोड ३२ लाख नगद, तथा विभिन्न बैंकको चेक बरामद गरिएको थियो ।
प्रहरीले तत्कालीन अवस्थामा सौरभका पिता सन्तोष जैन, आमा उषा जैन र भाई विक्की जैनलाई पक्राउ गरेको थियो। ४ करोड धरौटीमा रिहा भएका जैन परिवारमाथि अहिले पनि मुद्दा विचाराधीन छ । हुन्डी मुद्दामा सौरभ पहिले पनि भारतकै सिलिगुडीमा पक्राउ परी प्रहरीको हिरासतबाट फरार भएका थिए ।