साउन ३, काठमाण्डौ । पछिल्लो समय देशकै राजनीति र एजेण्डा डा. गोविन्द केसीमा घुमेको छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि भन्दै १५ औँ पटक अनशन बसेका केसीप्रति सरकार कठोर बन्दै गएको छ भने केसीको एजेण्डालाई साथ दिएर कतिपयले राजनीति गरिरहेका छन् ।
यो मुद्दामा प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा सहकर्मी प्रचण्डबीच एकमत भएको पाइदैन ।
प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा हरेक भाषणमा डा. केसीप्रति निकै आक्रामक देखिएका छन् भने प्रचण्डले मुख खोलेका छैनन् । एउटै दलका एउटा अध्यक्षले खुलेरै केसीको विरोध गर्नु र अर्का अध्यक्ष मौन बस्नुलाई महत्वका साथ हेरिएको छ ।
सम्बन्धित समाचार :
केसीलाई लिन हेलिकप्टर जुम्लामा, सरकारी पक्ष र केसीपक्षबीच झडपको स्थिती
डा. केसीको जीवन तलमाथि भए कांग्रेसले जिम्मेवारी लिनुपर्छ : बडाल
डा. केसी सास फेर्न नसकेर आत्तिन थाले, बेलाबेलामा बर्बराउने समस्या
चुरोट फ्याक्ट्री चलाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण ? अब सडक र संसद तात्छ
देशभरका चिकित्सकहरु हड्तालमा, नेकपाका डाक्टर भने केसीको विरुद्धमा
चिकित्सकको हडतालले सेवा प्रभावित, विरामीका आफन्त आक्रोषित(भिडियो)
डा. केसी रुँदै जुम्लाबाट काठमाण्डौ आउँदै, पत्रकारलाई प्रहरीको धम्की
केसीप्रति सरकारले गरेको व्यवहारलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले कडा विरोध गर्दै केसीको माग पूरा गर्न दबाब दिइरहेको छ । अन्य केही राजनीतिक दल र समुहले पनि केसीको मुद्दा बोकेका छन् ।
यस्तो अवस्थामा केपी ओलीलाई खुलेरै साथ दिनुपर्ने बेला मौन बसेर प्रचण्डले ओलीलाई असहयोग गरेको कतिपयको आशंका छ ।
प्रचण्ड मात्र नभए सरकारका केही मन्त्रीहरु र नेकपाका नेताहरुले पनि ओलीको बोली समात्न सकेका छैनन् । यसले ओलीले केसीप्रति लिएको नीतिमा सरकार र नेकपाभित्र एकमत नभएको स्पष्ट देखिन्छ ।
तर प्रधानमन्त्री ओलीले भने आफ्नो नीतिमा अडान लिन अहिलेसम्म सफल भएका छन् । चौतर्फी विरोधकाबीच पनि जुम्लामा अनशन बसेका केसीलाई सरकारले जबरजस्ती भए पनि काठमाण्डौ ल्याउन सफल भएको छ ।
अब ओलीले केसीको उपचार राम्रोसँग गराउने, यता संसदमा पनि बहुमतको बलमा चिकित्सा शिक्षा विधेयक केसीले भनेविपरित पारित गराउने रणनीति लिएका छन् ।
अहिलेसम्म मुख नखोलेका प्रचण्ड र अन्य नेताहरुले विधेयक पास गराउने बेलासम्म आफ्नो धारणा राख्न सक्छन् वा सक्दैनन्, त्यो भने हेर्न बाँकी नै छ ।
विधेयक पारित गराउन सफल भएका आगामी दिनमा ओली झन बलियो बन्ने निश्चित छ । ओली जति बलियो बन्यो, प्रचण्ड त्यति नै कमजोर बन्दै जाने भएकाले पनि नेकपाभित्र अझै एकमत हुन सक्ने स्थिती देखिदैन ।