काठमाडौं, ५ साउन । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकारको विरोधमा सडकमा उत्रिएको छ।प्रहरीले जुलुसलाई नियन्त्रणमा लिनको लागि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ । प्रहरी र तरुण दलका नेता तथा कार्यकर्ताबीच भएको झडपमा परेर दर्जनौं घाईते भएका छन् ।
केसीका समर्थनमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूलाई लक्षित गरी प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ।प्रदर्शनकारीका तर्फबाट ढुंगा हानिएको आरोप लगाउँदै प्रहरीले शनिबार दिउँसो (केहीबेर अघि) बल प्रयोग गरेको हो। प्रहरीले पटक पटक अश्रुग्यास हानेको छ। लाठी लागेर दर्जन बढी प्रदर्शनकारी घाइते छन्।
यस्तै माइतीघर मण्डलामा तरुण दलले गरेको विरोध र्यालीमा पनि प्रहरीले लाठी चार्ज गरेको छ। तरुण दलका कार्यकर्तासहित पत्रकारहरू घाइते छन्। प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीको हातमा चोट लागेको छ।
राजधानीको माइतीघर मण्डलमा शनिबार सरकारविरुद्ध तरुण दलले प्रदर्शन गरेको हो। प्रदर्शनको नेतृत्व तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले गरेका छन्।
राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता, कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे पनि तरुण दलले गरेको विरोध र्यालीमा सहभागी छन्।
सरकारले माइतीघर मण्डलालगायत क्षेत्रलाई निषेधित क्षेत्र तोकेको, डाक्टर केसीको माग पूरा नगरेको तथा मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको विरोधमा तरुण दल सडकमा उत्रिएको हो।तस्विरः मुकुन्द कालिकोटे